Wednesday, November 24, 2010

शब्दमा सीमित आरक्षण

ऋचा अर्याल


बिहानको समय । भरिभराउ माइक्रोबस। पहिले नै कोचाकोच एको माइक्रोबसका खलासी अरू यात्रुलाई तान्दै चढाउँदै थिए। भित्र खाली सीट त परे जाओस् टेक्ने ठाउँसम्म पनि नभएको उनले पर्वाहै गरेका थिएनन्। यात्रुहरू पनि ढिलो भयो भन्दै धमाधम चढिरहेका थिए। भित्र ड्राइभरको पछाडिको सीट, र पहिलो तथा दोस्रो पंक्तिको सीटमा पुरषहरू गजधम्म बसेका थिए। बाँकी सिटमा पनि एकाध महिलाबाहेक सबैजसो पुरुष बसेका थिए। माइक्रोमा उभिएका करिब दश जना यात्रुमा आधा भने महिला थिए।
त्यत्तिकैमा सोही माइक्रो बसमा एक जना महिलालाई खलासीले ठाउँ छ भनेर चढाए। उनले सिट भएमात्र चढ्ने भन्दै थिइन्। बस्ने ठाउँ मिलाइ दिने भनेर उनलाई भित्र पसाउने खलासीले त्यसपछि हेर्दा पनि हेरेनन्। करिब पच्चीस-छब्बीसकी ती महिला गर्भवती रहिछन्। उनले खलासीलाई सिट मिलाइदिन गरेको आग्रह सुन्ने कोही थिएन। विशालनगर नजिकै ढल्कोबाट जमलसम्म उनी भिडमा कोचिएर र उभिएरै यात्रा गर्न बाध्य भइन्।

त्यस माइक्रोबसमा पनि ड्राइभरको सिट पछाडि 'महिला आरक्षण ३ सिट' लेखिएको रहेछ। महिलाका लागि आरक्षित भनिएको सिटमा बसेका पुरुष कसैले पनि त्यसलाई वास्ता गरेको भने देखिएन। गर्भवती महिलालाई उभ्याएर आरक्षित सिटमा गजधम्म बसेका ती पुरुषहरू आफ्ना पढाइ र कामकाजका विषयमा कुराकानी गर्दै थिए। अर्थात् उनीहरू आरक्षण शब्दको अर्थ बुझ्न नसक्ने थिएनन्। तर उनीहरूलाई त्यो शब्द र त्यस स्थानमा बस्न पाउनुपर्ने ती महिलाको अधिकार बारेमा कुनै चासो देखिएन।

आरक्षणको आवश्यकता र त्यसको कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्ने रहेछ। आफ्ना लागि आरक्षित सिटमा बस्न पाउने अधिकार महिलाले दाबी गर्न पनि सक्नुपर्ने रहेछ। उनले अधिकारका रूपमा दाबी नगरी सिट मिलाई दिन अनुनय गरेकैले कसैले वास्ता नगरेका हुन् कि?

यसको आशय महिलालाई मात्र प्राथमिकता दिनुपर्छ भन्ने पनि होइन। बरु, स्वस्थ महिलाभन्दा अशक्त वा बिरामी पुरुष रहेछन् भने तिनलाई पनि बस्ने ठाउँमा प्राथमिकता दिनुपर्छ भन्ने हो। सबैलाई हामीले यात्राको क्रममा विचार गरौ मात्र भन्न खोजेको हो। ती गर्भवती महिलालाई उभ्याएर आरक्षण लेखिएको सिटमा बस्ने भलाद्मीहरू नै पनि भोलि आफैँ बिरामी वा अशक्त भएर त्यसरी माइक्रोबसमा यात्रा गर्नु परेमा कस्तो होला भन्ने सम्झाउनमात्र भनेको हो। अरूलाई परेको वा पर्ने मर्का हामीले आफूलाई उसैको ठाउँमा नराखेसम्म राम्ररी बुझ्न सकिँदैन। त्यसैले सबैले त्यस ठाउँमा आफूलाई राखेर हेरौँ।
हुनत बसमा कसले सिट छोड्ने र कसलाई भन्ने पनि समस्या हुन सक्छ। बस्ने ठाउँ भएसम्म त कसैले पनि ठाउँ छाड्नै पर्दैन। यस्तै बसिरहेकाहरूका लागि पनि अरू कसैले ठाउँ दिनु पर्दैन। जो उभिएका छन् र अशक्त, बिरामी, बालबालिका र तिनका आमा वा गर्भवती छन् तिनलाई सबैभन्दा पहिले आरक्षण लेखिएको ठाउँमा बस्नेले सिट छाड्नुपर्छ। आरक्षित स्थानमा अधिकार भएकाले नै प्राथमिकता पाउन्।

साथै, अशक्त यात्रुलाई प्राथमिकता दिलाउन अरू यात्रुले पनि आवाज उठाउनुपर्ने देखिन्छ। अरूको अधिकारको रक्षा गर्न आवाज उठाउँदा आफ्नो अधिकार पनि स्थापित हुन्छ। यसैगरी समर्थ र सबल व्यक्तिले अरू कोही अशक्त नभएमात्र आरक्षण लेखिएको सिटमा बस्ने बानीको विकास गर्नुपर्छ। आरक्षित सिटमा सबल व्यक्ति बस्नु र अशक्तलाई उभ्याउनु असभ्यताको परिचायक हो। महिलाहरू यस विषयमा बढी सचेत हुनुपर्छ। माग गर्ने हामी स्वयंले प्रयोग नगर्ने हो भने अरू क्षेत्रमा आरक्षण दाबी गर्ने अधिकार हुँदैन। अरूको हक मिच्नु जसरी असभ्यताको परिचय हो त्यसरी नै अधिकारको दाबी गर्नु सभ्यताको उदाहरण हो।

No comments:

Post a Comment