Tuesday, November 16, 2010

'राष्ट्रियतामाथि हस्तक्षेपको ग्राइन्ड डिजाइन भइरहेको छ'




सरोजराज अधिकारी

तपाइर्हरूले भारतीय माओवादीलाई प्रशिक्षण दिएको लस्कर-ए-तोएवासँग सम्बन्ध राखेको भनी भारतीय पक्षबाट गरिएको दाबीका सम्बन्धमा के भन्नुहुन्छ ?
भारतीय पक्षको आरोप पूर्ण रूपमा झूटो, नियोजित र कपोलकल्पित कुरा हो । म पार्टीको तर्फबाट यसप्रति खेद व्यक्त गर्दै भारत सरकारलाई यसको पुष्टि गर्न चुनौती दिन्छु साथै नेपाल सरकारले यस विषयमा तत्काल छानबिन गरी तथ्य सार्वजनिक गरोस् भन्ने माग गर्छु ।
यतिबेला यस्तो कुरा किन आएको होला ?
यो संविधानसभाको म्याद सकिने बेलातिर तयार पारिएको प्रतिवेदन हो भन्ने हामीलाई जानकारी छ । त्यतिखेर भारत र एकथरी नेपालका शक्तिहरू संविधानसभाको म्याद नथप्ने पक्षमा थिए । अर्को, नेपालका लागि राष्ट्रसंघीय मिसन -अनमिन) लाई जसरी पनि फिर्ता पठाउनुपर्छ भन्ने प्रवृत्ति थियो । भारत पनि त्यही चाहन्थ्यो । खासमा त्यो प्रतिवेदन त्यसैको वातावरण तयार पार्न बनाइएको हो । अहिले चाहिँ राजनीतिक दलबीच बन्न लागेको सहमति बिथोल्न ल्याइएको हुन सक्छ । भारत नेपालमा दीर्घकालीन शान्ति र संविधानको विपक्षमा छ । भारत नेपालको संविधानसभाले संविधान बनाओस् भन्ने पक्षमा छैन । त्यसैले यस किसिमका नियोजित प्रतिवेदन तयार पारे कुनै पनि बेला नेपालमा ठाडो हस्तक्षेप गर्ने आधार बन्छ भन्ने भारतीय सोच छ साथै हामी विस्तारित बैठक गर्दै छौं, त्यसलाई अस्वस्थ बनाउने उद्देश्य पनि देखिन्छ ।
तपाईंले सो प्रतिवेदन प्रधानमन्त्रीको निर्देशनमा
नेपाली सेनाले तयार पारेर भारतलाई बुझाएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो, त्यसको आधार के हो ?
प्रधानमन्त्रीले छानबिन गर्छु भनेर वचन दिनुभएको छ । त्यसैले अहिले सरकार वा प्रधानमन्त्रीलाई आरोपित गर्न चाहन्नँ । मैले बोल्दा पनि सेनालाई संस्थागत रूपमा आरोपित गर्न खोजेको होइन । मलाई प्राप्त सूचनाका आधारमा सेनाभित्रका केही व्यक्ति र प्रवृत्तिले त्यस्तो गरेका छन्, भन्न खोजेको हो । मुख्य कुरा के हो भने माओवादीलाई शान्ति र संविधानबाट अलग गराउन, घुँडा टेकाउन, आफूले चाहेअनुसार हिँडाउन वा दमन गर्न भारतले यो काम गरेको हो । शान्ति प्रक्रिया, संविधान निर्माण भाँड्नु र कुनै पनि बेला हस्तक्षेपका लागि आधार बनाउनु उसको प्रमुख उद्देश्य हो ।
जुन प्रधानमन्त्रीको निर्देशनमा प्रतिवेदन तयार पारिएको दाबी गर्नुभएको छ, उनैबाट स्वतन्त्र छानबिनको अपेक्षा कसरी गर्नुहुन्छ ?
प्रधानमन्त्रीले मेरो कुनै संलग्नता छैन, छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउँछु भन्नुभएकाले हामीले सकारात्मक रूपले हेरेका छौं ।
सेनाभित्रको केही तत्त्व भन्नुभयो, अलिकति खुलस्त पारिदिनुस् न ?
सरकारले छानबिन गर्छु भनेकाले अहिले त्यस विषयमा नजाउ“, नेपालमा कोको थिए भनेर सरकारले नै अनुसन्धान गरोस् ।
तर तपाईंकै अध्यक्षले सेनाले त्यस्तो काम गर्दैन भनिसक्नुभयो नि ?
अध्यक्षले पनि त्यसरी भन्नुभएको होइन । हामीले सेना सिंगो संस्थालाई आरोपित गर्न चाहेका छैनौं, कोही व्यक्ति विशेष त्यसमा सहभागी हुन सक्ला भन्ने उहाँको आशय हो । भारत आफैंले शिविर, शिविर पुगेर प्रतिवेदन तयार पारेको होइन होला । उसले ककसलाई लगायो त्यसको छानबिन हुनुपर्छ भन्ने हो ।
यो प्रकरणमा तपाईंलाई नै मुख्य दोषीका रूपमा चित्रित गर्नुको कारण के होला ?
त्यो त आरोपित गर्ने मानिसले नै जानेको होला । भारतको जहिले पनि दोहोरो मापदण्ड हुन्छ । उसले भनेअनुसार गर्‍यो भने खुसी हुन्छ । राष्ट्रियता, स्वाधीनता, नेपाली जनताका पक्षमा कुनै पार्टीले, व्यक्तिले आफ्नो निर्णय गर्‍यो, अडान राख्यो भने त्यो पार्टी र त्यस्ता व्यक्तिलाई बदनाम गर्न
खोज्छ । पछिल्लो समय हाम्रो अध्यक्षले भारतीय हस्तक्षेपका विरुद्ध अडान लिँदै आउनुभएको छ, हामीले त्यसलाई समर्थन गरेका छां त्यसैले आरोप लगाइएको हुन सक्छ ।
अध्यक्षलाई नै आरोपित नगरेर तपाईंलाई किन त ?
एक हिसाबले पार्टी स्थायी समिति सदस्य,
सैन्य इन्चार्ज, अध्यक्षलाई काँध थाप्ने नेतालाई आरोप लगाउनु भनेको सोझै अध्यक्षलाई
आरोपित गरेको हो । सिधै अध्यक्षलाई आरोपित गर्दा मान्छेले विश्वास गर्दैनन्, अप्ठ्यारो पर्न सक्छ । तालिम कसले गरायो भन्दा त सैन्य इन्चार्जले गरायो भन्न सजिलो भयो । त्यसैले मलाई आरोप लगाउनु उचित ठान्यो ।
तपाईंको नेतृत्वमा हालै लडाकुको चीन भ्रमण भएकाले पनि आरोपित गरिएको हो कि ?
भारतले तत्काल प्रतिशोधको राजनीति गर्छ । भारत निकै ठूलो देश हो, शक्ति राष्ट्र पनि भएको
छ । उसले अलि दीर्घकालीन, परिपक्व कूटनीति, राजनीति गरे हुन्थ्यो । आफूलाई महाशक्ति ठान्ने भारतले यस किसिमको केटाकेटी, हचुवा काम गरेर उसैलाई घाटा हुन्छ । यसरी बदनाम गर्नु विचार, संस्कृति, राष्ट्रको नीतिको निम्छरोपन हो ।
विस्तारित बैठक हुन लागेको अवस्थामा पार्टीभित्रैबाट कसैले खेलेझैं लाग्दैन ?
विचारमा राजनीतिक विषयमा छलफल, बहस, अन्तरविरोध हुन सक्छ तर यस्तो घटिया कुरा हाम्रो पार्टीमा हुँदैन ।
हिजो तपाइर् उपाध्यक्ष बाबुराम भट्टराई निकट हुनुहुन्थ्यो र बाबुरामजीलाई तपाईंकै पार्टी भित्रैबाट भारतनिकट नेताका रूपमा चित्रित गरिएको थियो । उहाँलाई छाड्नासाथ तपाईंमाथि यत्रो ठूलो आरोप लाग्नुमा कुनै सामञ्जस्य देख्नुहुन्छ ?
हिजो बाबुरामजी र अध्यक्ष एकै ठाउँमा हुनुहुन्थ्यो । त्यसैले अध्यक्ष, म र बाबुरामजी एकै ठाउँमा थियौं । त्यतिखेर म अध्यक्ष र बाबुरामजी दुवैको मान्छे थिएँ । पछि अध्यक्ष र बाबुरामजीबीच केही राजनीतिक अन्तरविरोध भयो र बाबुरामजीले अध्यक्षलाई छाड्नुभयो । म त अध्यक्षसँगै थिएँ, अध्यक्षसँगै रहें । फेरि बाबुरामजी भारतपरस्त भएर फरक मत ल्याएको भन्ने मलाई लाग्दैन । क्रान्ति, परिवर्तनबारे उहाँका आफ्ना विश्वास छन्, त्यसैलाई राख्नुभएको हो । मेरा आफ्ना विश्वास छन् जुन अध्यक्षसँग मिल्छन्, त्यसैले म उहासँग छु ।
आरोपित गरिएका अधिकांश नाम अध्यक्ष दाहालनिकटका छन्, यसबाट विस्तारित बैठकलाई प्रभावित पार्न खोजेजस्तो लाग्दैन ?
हो, भारतले हाम्रो पार्टीभित्र खेल्न खोजेको छ । उसले अन्तरविरोध चर्काएर पार्टी फुटाउन सकिन्छ कि भन्ने सोचेको हुन सक्छ । यसबाट हाम्रा कुनै नेता, कार्यकर्ता प्रभावित हुनु हँदैन र अरू कोही हौसिनु पनि जरुरी छैन ।
आजको मितिमा भारतीय माओवादीसँग तपाइर्ंहरूको कुनै सम्बन्ध छैन त ?
हाम्रो वैचारिक निकटता छ । हामी समान विचारधारा, दर्शन मान्छौं । यसमा लुकाउनुपर्ने कुरै छैन । युद्धकालमा हामी सम्पर्कमा थियौ । हाम्रा केही कमान्डरहरूले उहाँहरूको तालिम, अनुभव लिनुभएको थियो । हामी शान्ति प्रक्रियामा आइसकेपछि भने वैचारिक, राजनीतिक निकटताबाहेक अरू कुनै सम्बन्ध छैन ।
हिजो तपाईंका कमान्डरले तालिम लिएजस्तै अहिले उनीहरूले तालिम, प्रशिक्षणमा सहयोग माग्दा नकार्न सक्ने अवस्था रहन्छ र ?
प्राविधिक रुपले तर्क गर्दा पनि हिजो हामीलाई सिकाउनेहरू हामीभन्दा पछि होलान् कि अघि ? पक्कै पनि अगाडि छन् । हामीले सिकाउनै पर्दा पनि के सिकाउने ? यो व्यावहारिक रूपले नमिल्ने कुरा हो । भारतीय माओवादी विश्वको ठूलो सैन्य शक्ति भएकामध्ये एक भारतसँग लडिरहेको छ । भारत सरकारकै तथ्यांकअनुसार एक सय २० वटा जिल्लामा उसले आफ्नो प्रभाव सघन रूपमा विस्तार गरिसकेको छ । एक सय २० जिल्ला भनेको सिंगो नेपालको क्षेत्रफलभन्दा ठूलो क्षेत्र हो । आन्तरिक मामिलामा सबैभन्दा ठूलो समस्या माओवादी भएको भारतीय प्रधानमन्त्रीले नै स्विकारिसक्नुभएको छ । त्यति ठूलो समस्या सिर्जना हुने गरी लड्न सक्नेलाई हामीले तालिम दिने कुरा सुन्दा भारतीय माओवादीबारे सामान्य ज्ञान राख्ने मान्छे पनि हाँस्छ ।
युद्धकालमा त तपाईंहरूबीच कार्यगत एकता नै थियो नि, होइन ?
युद्धकालमा हामीले सि-कम्पोसा बनाएर दक्षिण एसियाली क्रान्तिकारी संगठनहरूलाई समन्वय गर्ने प्रयत्न गरेकै हो । त्यसो गर्दा पनि हामीले विचारको राजनीतिमै जोड दिएका थियांै तर क्रान्ति आयात र निर्यात गर्ने विषय होइन । हाम्रै छिमेकी चीनमा कम्युनिस्ट व्यवस्था हुँदा नेपालमा किन भएन ? यसबाट पनि के बुझ्नुपर्छ भने क्रान्ति सम्बन्धित देशको परिस्थितिमा हुने परिवर्तन हो । कसैले आयात वा निर्यात गर्ने विषय होइन ।
लस्कर-ए-तोइबासँग पनि तपाईंहरूलाई जोडिएको छ, उसँग चाहिँ कस्तो सम्बन्ध हो ?
म त हालै त्यसको नाम सुन्दै छु । यो कहाँको हो, केहो भन्नेबारे मलाई ज्ञान थिएन । अहिले
हामीलाई जोडेर आरोपित गरिएपछि मात्रै मैले इन्टरनेटमा के रहेछ भनेर खोज्दा नेपालमा विमान अपहरणमा जोडिएको, पाकिस्तानमा आधार भएको र कश्मिरमा गतिविधि गरिरहेको संगठन रहेछ भन्ने थाहा पाएको हुँ ।
तपाईंकै अध्यक्षले केही वर्षअघि आईएसआईले सहयोगको प्रस्ताव गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो, तोएवासँग पनि त्यस्तो केही थियो कि ?
छैन । चिन्दै नचिनेको, नामसम्म नसुनेको संगठनसंग कसरी साइनो, सम्बन्ध हुन्छ ? त्यससँग न हाम्रो राजनीति, न दर्शन, न छेउछाउ कतै भूगोल मिल्छ । त्यस्तासँग जोडेर जसरी आरोपित गरिएको छ, यसले पनि के देखाउँछ भने षड्यन्त्रपूर्ण ढंगले नेपाली राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गर्ने 'ग्राइन्ड डिजाइन' भइरहेको छ ।
यस विषयमा सरकारी पक्ष उदासीन प्रायः देखिएको छ, किन होला ?
यो सरकारमाथिकै आरोप हो भन्ने नबुझेजस्तो लाग्छ । आरोपअनुसार त त्यो आतंककारी भनेको संगठन, भारतले प्रतिबन्धित गरेका माओवादी नेपालमा आउने रहेछन्, यहाँ बस्ने रहेछन् । सरकार, सुरक्षा निकायले के हेरेर बसेको छ ? अर्को यो अन्तर्राष्ट्रिय साझा संस्था संयुक्त राष्ट्रसंघको इकाइ अनमिनमाथिको आरोप पनि हो । शिविरमा तालिम हुँदा त्यसले के हेरेर बस्यो ? यसरी उसलाई पनि चुनौती दिन खोजिएको हो ।
त्यसैले हामीलाई भन्दा पनि सरकार र अनमिनलाई चुनौती हो । अस्ति हाम्रा तीनजना कमान्डर चीन भ्रमण जाँदा सरकारले हतारहतार पत्र लेख्यो, स्पष्टीकरण सोध्यो । अहिले यति ठूलो आरोप आएको छ, सरकारले एकपटक पनि हामीलाई औपचारिक रूपमा सोधेको छैन । यसबाट पनि दालमा केही कालो छ भन्ने देखिन्छ । माउ खाने चितुवाले बाच्छो पनि छाड्दैन भन्ने कुरा सरकार र अन्य दलले बुझ्नुपर्छ ।
अहिले माओवादीमाथि आरोप लाग्यो भनेर सरकार वा कोही खुसी भएका होलान्, भोलि उनीहरूलाई पनि खान्छ । त्यसैले क्षणिक रूपमा खुसी हुनेभन्दा यसलाई राष्ट्रियता, स्वाधीनतामाथिको हस्तक्षेप मानेर सरकारले, राजनीतिक पार्टीहरूले डटेर विरोध गर्नुपर्छ ।

No comments:

Post a Comment