Monday, November 22, 2010

हाम्रो संघर्ष त्रिकोणात्मक नै हो’

कान्तिपुर संवाददाता
माओवादीको पालुङटार प्लेनममा प्रस्तुत तीनवटै राजनीतिक दस्तावेजमाथि बहस प्रारम्भ भएको छ । उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यले सोमबार आ-आफ्नो प्रस्ताव पेस गरेका छन् भने अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पेस गर्ने छन् । त्यसउप्रान्त उक्त प्रतिवेदनहरूमाथि सहभागीहरूबीच बहस हुनेछ । त्रिकोणात्मक वैचारिक अन्तरविरोधसहित प्लेनममा गरमागरम बहस प्रारम्भ हुँदै गर्दा त्यहाँस्थित कान्तिपुर प्रतिनिधिहरु गंगा बिसी, सरोजराज अधिकारी, कृष्ण आचार्य र माधव बस्नेतले माओवादी उपाध्यक्षद्वय भट्टराई र वैद्यसँग कुराकानी गरेका थिए । प्रस्तुत छ सारसंक्षेपः

'हाम्रो संघर्ष त्रिकोणात्मक नै हो’ : भट्टराई

तपाईं तीनजना नेताहरूले फरक-फरक दस्तावेज प्रस्तुत गर्नुभएको छ, यी दस्तावेजहरूमा के फरक छ ?

हामी तीनैजनाका दस्तावेज छलफलका लागि प्रस्तुत भएका हुन्, कुनै पनि अन्तिम विचार

होइनन् । मैले प्रस्तुत गरेको दस्तावेजमा केही विषयमा फरक छ । पहिलो कुरा, माक्र्सवादलाई परम्परागत रूपमा बुझियो, त्यसलाई समयानुकूल विकास गरेर जानुपर्छ । अर्को देशको नक्कल गरेर हुँदैन भन्ने मेरो मान्यता हो । दोस्रो, विश्वको परिस्थितिलाई कसरी बुझ्ने र त्यसले नेपालमा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई पनि मैले समेटेको छु । दोस्रो विश्वयुद्धपछि जुन परिवर्तन आएको छ, साम्राज्यवादी व्यवस्थाले शोषण गर्ने प्रवृत्ति फरक परेको छ । पहिलेजस्तो भूगोलमा साम्राज्य जमाएर शोषण गर्ने प्रवृत्ति अहिले छैन । अहिले साम्राज्यवादी शक्तिहरू संयुक्त रूपमा विश्वबैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषमार्फत् शोषण गर्छन् । यसले हाम्रो क्रान्तिकारी नीतिमा कस्तो प्रभाव पार्छ भन्ने समेटेको छु । तेस्रो, हामीबीच भारतसँगको सम्बन्धलाई कसरी बुझ्ने भन्ने बहस पनि छ । सुगौली सन्धिदेखि नेपालमा निरन्तर भारतीय हस्तक्षेप छ । त्यसबाट कसरी मुक्ति प्राप्त गर्ने, सिधै ऊसँग संघर्ष गर्ने कि उसका शोषण प्रकृतिलाई मलजल गर्ने देशभित्रका शक्तिसँग संघर्ष गर्ने भन्ने प्रश्न छ । चौथो, शान्ति प्रक्रियाबाट जसरी हामी अघि बढ्दैछौं, यो प्रक्रिया तुहाएर देशलाई प्रतिगमनतिर फर्काउने षडयन्त्र हुँदैछ, यसमा पार्टीले कस्तो नीति लिनुपर्छ भन्ने विषयमा पनि केही अन्तरविरोध छन् ।

तपाईंहरूबीच लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्रमा जाने भन्नेबारेमा अन्तरविरोध हो ?

त्यस्तो होइन । हामीले चुनबाङ बैठकमा पनि भनेका थियौं । लोकतान्त्रिक गणतन्त्र भनेको सामान्य शब्दावली हो । यसको ठोस रूप कस्तो हुन्छ त भन्ने विषयमा १२ बुँदेदेखि अन्तरिम संविधानयताका दस्तावेज हेर्नुभयो भने वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि विभेदको अन्त्य गर्नेगरी राज्यको पुनःसंरचना गर्ने भनिएको छ, त्यो भनेको परम्परागत लोकतन्त्र होइन । धेरै मान्छेले त्यो कुरा बुझेका छैनन् । राजतन्त्रको अन्त्य भइसकेपछि आउने व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो । हामीले त्यसमा मात्र सहमति जनाएको होइन । प्रतिस्पर्धात्मक व्यवस्थालाई स्वीकार गरेका हौं । त्यसको अर्थ उत्पीडित समुदायको सहभागितामूलक लोकतन्त्र खोजेको हो । यो भनेको संसदीय लोकतन्त्र होइन । यसमा हाम्रो मतभिन्नता छैन । तर यसलाई कसरी प्राप्त गर्ने भन्ने विषयमा हामीबीच बहस छ ।

सैद्धान्तिक लेपन लगाए पनि तपाईंहरूबीचको अन्तरविरोध व्यक्तिगत टकरावजस्तो देखिन्छ नि ?

वैचारिक राजनीतिकबाहेक केही सांगठनिक कुरा छन् । जनयुद्धकालमा जुन सांगठनिक संरचना थियो, शान्तिपूर्ण कालमा आइसकेपछि निश्चित रूपमा धेरै व्यक्ति पार्टीमा प्रवेश गरेका छन् । किसान, मजदुर वर्गभन्दा माथिल्लो वर्ग प्रवेश गरेका छन् । यसले पार्टीमा विकृति ल्याएको छ । त्यसलाई कसरी समाधान गर्ने भन्ने अहम् सवाल हो । व्यक्तिगत मुद्दाभन्दा संगठनलाई कसरी क्रान्तिकारी बनाइराख्ने भन्ने हामीबीच उठेको मूल विषय हो ।

तपाईंले पेस गरेको दस्तावेजको वैज्ञानिक आधार के छ ?

प्रत्येक देशको क्रान्तिको आफ्नै मौलिक बाटो हुन्छ । त्यसलाई पहिल्याउनुपर्छ भन्नेमा मैले पहिलेदेखि नै जोड दिँदै आएको छु । क्रान्तिको सार्वभौम नियम त हुन्छ, प्रत्येक देशको क्रान्तिको आफ्नै मौलिक विशेषता हुन्छ । मैले यो जनयुद्धकालमा र अहिले पनि राख्दै आएको छु । अहिले त्यो पक्षमा अलि जोड दिएको छु । अर्को कुरा, शान्ति र संविधानको प्रक्रियालाई अन्तिम समयसम्म प्रयत्न गरिनुपर्छ र प्रतिगामी शक्तिहरूले षडयन्त्र गरे, प्रतिक्रान्ति गरे भने जनतालाई संगठित गरी सशक्त आन्दोलनको तयारी गर्नुपर्छ । तथापि शान्ति र संविधानको बाटोलाई अन्तिमसम्म लैजाने प्रयत्न जारी राख्नुपर्छ ।

तपाईंले उठाएको कार्यदिशा पार्टीले अपनाउनुपर्ने कारण के छ ?

किनकि मैले जहिले पनि यथार्थ धरातलमा टेकेर कुरा राखेको छु । राष्ट्रिय, अन्तर्राष्ट्रिय, वर्गीय परिस्थिति हेरेर कुरा गर्छु । ठोस धरातलीय आधारमा क्रान्तिकारी पार्टीले मूल कार्यदिशा तय गनुपर्छ । मैले जुन कुरा जोड दिएर भनेको छु । यथार्थ धरातलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जोगाउन, शान्ति र संविधानलाई अन्त्यसम्म लैजान प्रयत्न गरिनुपर्छ । जनताको यसमै समर्थन हुन्छ । यी उपलब्धि केही गरी खोसियो भने त्यो अवस्थामा जनताको आन्दोलन हुन्छ ।

पार्टीमा त्रिपक्षीय संघर्ष कि अध्यक्ष र तपाईबीच हो ?

तीनवटा दस्तावेजका आआफ्ना अडान छन् । कतिपय मुद्दा साझा छन् । सबै विषयमा असहमति भन्ने होइन । केही असमतिका बुँदा छन् । केही अध्यक्ष प्रचण्ड र मेरा बीचमा असहमति छ, केही अध्यक्ष र किरण (मोहन वैद्य) अनि केही किरणजी र मेरोबीच असहमति छ । यो त्रिकोणात्मक नै हो ।

तपाईंलाई जनगणतन्त्रमा जान नचाहने भनेर पाटीभित्र आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?

संविधानसभा निर्वाचनमा मैरो संयोजकत्वमा बनाएको प्रतिबद्धतापत्रमा स्वाधीन र जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्र भनेका छौं। त्यसका आधारमा मत माग्यौं र जनताले जिताए पनि । त्यो कुरा हामीले बिर्सन हुँदैन । लोकतान्त्रिक गणतन्त्र सामान्य शब्दावली हो । बहुसंख्यक सहभागी हुने स्वाधीन र जनमुखी लोकतन्त्र त्यतिबेला भनेका थियौं । पछि त्यसलाई जनताको जिब्रोमा गढ्नेगरी जनताको संघीय लोकतान्त्रिक गणतन्त्र भनेका हौं ।

प्रचण्ड र वैद्यका भनाइमा त तपाई यथास्थितिमा रम्ने मान्छे हुनुहुँदो रहेछ नि ?

त्यो विलकुल गलत हो । क्रान्तिलाई मौलिक ढंगले कसरी लिने भन्ने मेरो भनाइ हो । जनयुद्धकालमा कतिपय साथीहरूले राजासँग मिलेर भारतसँग लड्ने भन्थे । साथीहरूले ज्ञानेन्द्रसँग वार्ता गर्ने तारतम्य पनि मिलाएका थिए । मेरो सोचाइ पहिले राजतन्त्रको अन्त्य गरी सामन्तवादको अन्त्य गनुपर्छ र त्यसपछि जनवादको बाटो खुल्छ भन्ने थियो र छ । भारतसँगको लडाइँ त्यसपछि गर्न सकिन्छ भन्ने हो । मैले भनेको कुरा सफल भयो भने म कसरी यथास्थिति भएँ ? सबैको सहयोग भएको थियो, जोड त मेरो थियो । अहिले नयाँ इतिहास निर्माण भएको छ । के गणतन्त्र, संघीयता आउनु गलत थियो ? संविधानसभाको चुनाव गलत थियो ? कसैले त्यसो भन्छ भने ऊ यथास्थितिवादी भएको त्यहीबाट प्रस्ट हुन्छ । अहिले पनि प्राप्त उपलब्धि खोस्ने खतरा छ । जोगाएर अघि जानुपर्छ । यसलाई जोगाउन सकेनौं भने भएका उपलब्धि गुम्ने खतरा छ भन्ने मेरो मत हो । फेरि राजतन्त्र वा सैनिक तानाशाह आउने, संविधानसभा गुम्ने भयो भने सम्पूर्ण उपलब्धि गुम्छन् । साथीहरूले निम्न पुँजीवादी अधैर्यतावश कदम चाल्ने हो भने ००७ सालको उपलब्धि ०१७ सालमा गुमेजस्तै अहिले पनि पाएको उपलब्धि गुम्ने खतरा छ ।

अध्यक्षको नयाँ राजनीतिक प्रतिवेदन पेस हुन्छ कि हुँदैन ?

हुँदैन । अहिले तीनवटाको छलफल हुन्छ । हामी थप व्याख्या गर्छौं । राज्य समितिका सदस्यहरूले तीनवटै दस्तावेजमा विचार व्यक्त गर्नुहुन्छ । त्यसपछि अध्यक्षले आएका कुरा समेटेर लिखित वा मौखिक रूपमा आफ्ना कुरा राख्नुहुन्छ । त्यसमा हामीले उठाएका विषयमा समेटियो भने एउटै भएर जान पनि सक्छ । मिल्ने कुरा मिलाएर जान्छौं, नमिल्ने कुरामा असहमति राखेर सम्मेलन, महाधिवेशनमा जान्छौं ।

भारतप्रति तपाईं किन नरम ?

सुगौली सन्धिदेखि यता भारतको नेपालमा निरन्तर औपनिवेशिक उत्पीडन छ । त्यसको विषयमा शोधग्रन्थ लेख्ने मान्छे मै हुँ । ४० सूत्रीय माग प्रस्तुत गर्नेदेखि लिएर अहिलेसम्मका आन्दोलनमा म अग्रपंक्तिमा उभिएर लडेको छु । अहिले सिधा भारतसँग लड्नु उपयुक्त हो कि भारतबाट पालितपोषित देशभित्रका शक्तिसँग लड्नु उपयुक्त हो भन्ने मेरो प्रश्न हो । भारतबाट पालितपोषित देशभित्रका तत्त्व छन्, त्यस विरुद्धका शक्तिलाई एकढिक्का बनाउनुपर्छ र त्यसपछि मात्र भारतसँग लड्नुपर्छ भन्ने मेरो भनाइ हो । साथीहरूको भनाइ पहिले भारतसँग लड्नुपर्छ, बरु यहाँका उदार सामन्तसँग मिल्नुपर्छ भन्ने भनाइ छ । त्यो प्रतिउत्पादक हुन्छ । अहिले भारतसँग लड्नु उपयुक्त हुँदैन ।

तपाईंको विचारप्रति कार्यकर्ताको समर्थन कत्तिको छ भन्ने लाग्छ ?

बैठकमा मेरो विचारको राम्रो स्थिति छ । मैले सोचेभन्दा बढी समर्थन देखेको छु । राजनीतिक र वैचारिक कार्यदिशा सही छ कि छैन भन्ने प्रमुख कुरा हो । अन्ततः मेरो विचारलाई पार्टीले समर्थन गर्छ भन्ने कुरामा विश्वस्त छु । यो केन्द्रीय समितिको विस्तारित बैठक हो । अरू यसमा आमन्त्रितमात्र हुन् । यसमा मत हाल्ने अधिकार केन्द्रीय समिति सदस्यको मात्र हुन्छ । अरूको काम सुझाव दिनेमात्र हुन्छ ।

मतदान यहाँ हुँदैन । कसले कस्तो बोल्यो भन्ने मात्र हो । मतदान गर्नुपर्‍यो भने केन्द्रीय समिति सदस्यले मात्र गर्छन् ।

तपाईंहरूबीच कुरा मिलेन भने महाधिवेशन बोलाउनुहुन्छ ?

तत्कालीन गर्ने कुरामा हामी एकताबद्ध भएर जान्छौं । पार्टी फ्ट्ने भन्ने हल्ला गलत हो । पार्टी एकताबद्ध बनाउने तीनै नेता सजग छौं । सकभर सबै कुरा मिलाउने प्रयासमा छौं । नमिलेका बुँदामा छलफल चलाएर, महाधिवेशनले टुंगो लगाउँछौं ।

अध्यक्षले त नेतृत्व परिवर्तन गर्न खोजेको संकेत गर्नुभएको छ नि ?

उहाँले त्यस्तो संकेत गरेको जस्तो लाग्दैन । उहाँ र मेरो राजनीतिक इतिहास बराबर हो । हामी रातारात नेतृत्वमा गएको पनि होइन ।

तपाईंहरू चुनबाङ बैठकजस्तो अध्यक्षमा 'विलय हुने’ त होला नि ?

चुनबाङ बैठकको एक वर्ष अघिदेखि मैले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अघि सारेको

थिएँ । त्यसलाई स्वीकारेको हुनाले मेरो राजनीतिक जित थियो । एकअर्काप्रति विलय हुने कुरा खुसीको अभिव्यक्ति थियो । अहिले शान्ति र संविधानको बाटो नै पारित हुन्छ ।



'धेरै कुरा अध्यक्षसँग मिल्छन्’ : बैद्य



तीन दस्तावेजमध्ये तपाईंको दस्तावेज कुन अर्थमा भिन्न छ ?

बाबुरामजीको र मेरो दस्तावेजमा प्रधानअन्तरविरोधबारे नै ठूलो भिन्नता छ । अहिलेको स्थितिमा घरेलु प्रतिक्रियावादी र भारतीय विस्तारवादीबीच नै प्रधानअन्तरविरोध हो भन्ने मेरो धारणा हो । अध्यक्षको पनि त्यही हो । हामीले योजना बनाउँदा विस्तारवादी पक्षबाट हस्तक्षेप, घुसपैठ भइराखेको छ, त्यसका विरुद्ध पनि हामी जानुपर्छ । अर्कोतर्फ दलाल पुँजीपति शक्ति जसले संविधान निर्माणमा बाधा पुर्‍याइरहेका छन्, तिनीहरू र विस्तारवादी शक्ति मिलेर राजनीतिक निकास निकाल्न दिइरहेका छैनन् । त्यसैले हामीले उनीहरूका विरुद्ध संघर्ष नगरी हुँदैन । बाबुरामजीको चाहिँ संघर्ष त गर्नुपर्छ, तर त्यो सहायक हो भन्ने छ ।

अर्कोतर्फ जतिसुकै ठूला कुरा गर्नखोजे पनि हामीले गर्न खोजेको पुँजीवादी क्रान्ति नै हो । सत्ताकब्जा गर्नथाले, कम्युनिष्ट व्यवस्था ल्याउनथाले भनिन्छ, त्यो होइन । हामीले पुँजीवादी क्रान्ति नै गर्न खोजेका हौँ । समाजवादीमा त हामी गएकै छैनौँ । यो पुँजीवादी क्रान्ति पनि कांग्रेस र एमालेले गर्न सक्दैन भन्ने हाम्रो ठम्याइ हो ।

अध्यक्षको दस्तावेजसँग चाहिँ के भिन्नता छ ?

अध्यक्षको योजना कार्यान्वयनको पाटोमा अलि गएन भन्ने छ । हामीले जे नीति

लिन्छौं, त्यसअनुसार जानुपर्‍यो, नत्र बिगि्रन्छ भन्ने मेरो कुरा हो । मेरो एकढंगले जानुपर्छ

भन्ने छ, बाबुरामजीको अर्कै ढंगले जानुपर्छ भन्ने छ । अध्यक्षको अलि बीचमा छ ।

भावी कार्यदिशाका सम्बन्धमा तपाईं अध्यक्षको नजिक हो ?

नजिक त निश्चित रूपमा हो । हाम्रा धेरै कुरा मिल्छन् । अध्यक्षसँग मेरो भिन्नता भनेको कार्यान्वयनको पाटोमा मात्र हो ।

कार्यदिशामा समानता छ भने दुईवटा दस्तावेजलाई एउटै बनाउँदा हुन्थेन ?

दस्तावेज गाभ्ने त कुरा भएन नि । त्यसो गर्ने भए त किन छुट्टै दस्तावेज लेख्नुपथ्र्यो । अध्यक्षले एकातिर हामीलाई यही हो भन्ने अनि घुमाउँदै यथास्थितितिर पो लैजानुहुन्छ कि भन्ने मेरो चिन्ता हो । सुरु-सुरुमा पार्टी एकदम क्रान्तिकारी भएर आउँछ, पछि-पछि सम्झौतावादमा फँस्ने गर्छ । दस वर्षको जनयुद्ध लडेर पनि त्यस किसिमको सम्झौतावादमा नफँसियोस् भन्न खोजेको हुँ । ००७ र ०४६ मा त्यत्तिका ठूला क्रान्ति भए, तर पछि सबै कुरा सम्झौतामै टुंगियो । अहिलेको आन्दोलन पनि सम्झौतामा नजाओस् र जनताको संघीय गणतन्त्र स्थापना होस् भन्ने मेरो भनाइ हो ।

जनताको संघीय गणतन्त्रको कार्यदिशा तपाईंहरूले तीन वर्षअघि भक्तपुरको खरिपाटी बैठकबाटै पारित गर्नुभएको थियो । अहिले पनि त्यसैमा अल्भिmनुभएको छ । पार्टी तीन वर्षदेखि एकठाउँमै अडिएको हो ?

मेरो भनाइ पनि त्यही हो । कार्यदिशा त धेरैअघि पारित भयो, तर कार्यान्वयन भएन । त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो भन्ने हो । अध्यक्षसँग मेरो भिन्नता यही हो । कार्यदिशा र नेतृत्वका बीचमा अन्तरविरोध देखापर्‍यो भनेर मैले दस्तावेजमै लेखेको छु ।

त्यसोभए यत्तिका वर्षसम्म पार्टीको कार्यदिशा कार्यान्वयन गर्न नसक्ने नेतृत्व किन राखिरहने त ?

अहिल्यै हामीले नेतृत्व परिवर्तनबारे सोचेका छैनौं । कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तन त्यति सजिलो हँदैन । हामी छलफल, बहस गर्छौं । कमी-कमजोरी सबैका हुन्छन्, त्यसलाई सच्याउँदै रूपान्तरित र एकताबद्ध हुँदै जानुपर्छ । खासगरी मेरो दस्तावेज खबरदारी गर्नका लागि हो । यदि नेतृत्वले कार्यदिशा कार्यान्वयन गर्न सकेन भने जनताले पार्टीको एमालेकरण कुनै हालतमा मान्दैनन् ।

अध्यक्षले तपाईंका कुरा समेटेर नयाँ प्रतिवेदन तयार पारेको कुरा पनि आएको छ, यसो हो

भने अध्यक्षले त्यस्तो दस्तावेज प्रस्तुत गर्न पाउनुहुन्छ कि हुँदैन ?

उहाँले समेटेर ल्याउनु राम्रो कुरा हो । अध्यक्षले आफ्ना कुरा राख्न नपाउने भन्ने हुँदैन । कुनै न कुनै रूपमा उहाँले त्यसलाई राख्नुहुन्छ । अन्त्यमा उहाँले सबै दस्तावेजलाई समेटेर प्रस्टीकरण दिने बेलामा आफ्ना कुराहरू राख्न पाउनुहुन्छ । पहिले त तीनवटा दस्तावेजमा बहस हुन्छ । त्यसपछि अध्यक्षले समग्रमा आफ्ना कुरा राख्नुहुनेछ । दस्तावेजलाई संश्लेषण गर्ने अधिकार त अध्यक्षकै हो, उहाँको त्यो अधिकार त सुरक्षित नै छ ।

एउटा फरक दस्तावेज प्रस्तुतकर्ताका रूपमा यस बैठकमा सहभागी प्रतिनिधिबीच तपाईंको स्थिति कस्तो छ ?

यो अलि व्यक्तिगत प्रश्न भयो । जे होस्, छलफल राम्रै ढंगले चलिरहेको छ, मेरो स्थिति एकदम मजबुत छ । सबै जनता, कार्यकर्ताको पंक्तिलाई मेरो दस्तावेजले राम्रो ढंगले समेटेको छ ।

युद्ध लडेर आएकै माओवादी जनसेनामा तपाईंको पकड निकै कमजोर छ भनिन्छ नि ?

बाहिर त जे भने पनि भयो नि, त्यहाँ के छ भन्ने त हामीलाई थाहा छ । हामीले पनि कुराकानी गरिरहेका छौं । जनमुक्ति सेनाभित्र मेरो अवस्था राम्रो छ । युद्ध लडेका साथी भएकाले रगतको मूल्य त झन् उहाँहरूलाई थाहा छ । मेरो पकड छैन भन्नु बाहिरको प्रचारबाजी हो ।

तपाईंको कार्यदिशाको प्रमुख उद्देश्य नै जनविद्रोह छ, तर शान्तिको कुरा पनि गरिरहनुभएको छ । यो कसरी मेल खान्छ ?

जनविद्रोह भन्ने कुरा कार्यदिशाको एउटा पक्ष

हो । हामी लोकतान्त्रिक गणतन्त्रमा मात्र सीमित रहने कि जनताको संघीय गणतन्त्रमा जाने मुख्य प्रश्न यही हो । यो लोकतान्त्रिक गणतन्त्रले अहिलेको समस्याको समाधान गर्न सक्दैन, जनताको संघीय गणतन्त्र हुनुपर्छ भन्ने हो । हामीले बनाएका विधानहरूमा, पार्टीका दस्तावेजमा जतासुकै जनताको संघीय गणतन्त्रमै जोड दिएका छौं । जनताको संघीय गणतन्त्र स्थापना नभइकन यावत समस्याको समाधान हुँदैन ।

शान्ति प्रक्रियामा आउँदा लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर आउने, अहिले जनगणतन्त्रको कुरा गर्दा अरूलाई कसरी स्वीकार्य होला ?

बाह्र बुँदे सहमति हेर्नुभयो भने त्यसमा गणतन्त्रको कुरा पनि छैन । पूर्ण लोकतन्त्रमात्रै भनिएको छ । त्यो भनेको के ? त्यो लोकतन्त्रको परिभाषा कांग्रेस, एमाले र हामीले आ-आफ्नो ढंगले लगाइरहेका छौं । उहाँहरू बहुलवाद भन्नुहुन्छ, हामी मान्छौं त ? हामी किन बहुलवादमा जाने ? शान्ति प्रक्रियाको सेना समायोजनको कुरामा पनि संख्या, मोडेलका बारेमा अहिलेको सरकारले भनेअनुसार नै जानुपर्‍यो भन्ने उहाँहरूको जोड छ । समायोजन भनेको त सरकारी मापदण्ड होइन नि । सबै प्रक्रियामा सम्मानजनक ढंगले अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

तपाईंको विचारमा अहिले युद्ध प्रधान कि आन्दोलन ?

युद्ध प्रधान होइन । हामी शान्तिकै प्रक्रियामा अगाडि बढिरहेका छौं । हामी इमानदारीपूर्वक शान्तिमा आएको पनि हो । हामी नयाँ संविधान लेख्न चाहन्छौं । तर शान्ति प्रक्रियामा अवरोध खडा गर्ने र नयाँ संविधान बन्न नदिने ठूलो षडयन्त्र भइरहेको छ । त्यसकारण देशभित्रका दलाल, नोकरशाह, सामन्त वर्ग र विस्तारवादी मिलेर यहाँ सबथोक गर्दैछन् । यसका विरुद्ध हामी आन्दोलनमा जान्छौं ।

कस्तो आन्दोलन ?

हामी शान्तिपूर्ण आन्दोलनमै जान्छौं । शान्ति प्रक्रिया अगाडि बढ्न सक्ने र संविधान बन्न सक्ने स्थिति पटक्कै देखिँदैन । यति धेरै वार्ता गरियो कि भनेर साध्य छैन, निहुँ झिकेको झिक्यै छ । माओवादीलाई आत्मसमर्पण गर्न आएको भनिएको छ । हामी त सम्मानजनक ढंगले सहमति कायम गरौं भन्ने पक्षमा छौं । सम्मानजनक ढंगले सहमति कायम गर्न नदिने शक्तिले सबैथोकमा अवरोध गरेको छ, त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता छ ।

केही दिनअघि संसदमा भएको हातपात पनि तपाईंले भनेको संघर्षको स्वरूप हो ?

स्थायी समितिले एकढंगले जाने भनेका थियौं । बजेट रोक्ने भन्ने हाम्रो उद्देश्य थिएन । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन, त्यसैले एउटा व्यवस्था गरेर विशेष खालको बजेट ल्याउने कुरा गर्‍यौं । तर सत्तारुढ दलहरू पूर्ण बजेट ल्याउने दिशातिर लागे । संविधान संशोधन गर्ने कुरामा पनि राष्ट्रपतिबाट बाधाअड्चन फुकाउने कुरामा हामी सहमत हुन सकेनौं । पहिले एउटा सहमति भएको थियो, तर सत्तारुढ दल अर्कै ढंगले अघि बढ्न खोज्दा त्यस्तो स्थिति सिर्जना भएको हो ।

यसबाट तपाईंहरू अझै हिंसाको धङधङीबाट मुक्त भइसक्नुभएको छैन भन्ने अन्य दलको आरोप प्रमाणित भयो नि होइन ?

त्यस्तो कुरा नगरौं, अन्यत्रको परिपक्व संसदीय व्यवस्थामा पनि त्यस किसिमको कुर्सी फोडाफोड, तोडातोड हुन्छ । रोस्ट्रम त घेर्नुपर्‍यो क्यारे, रोस्ट्रम कसरी घेर्ने भन्नोस् त ? यसलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्नु हुँदैन ।

यो बैठकबाट पार्टी एकबद्ध भएर अघि बढ्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

मिल्नेभन्दा पनि रूपान्तरण हुन्छ । मिल्नुको अर्थ सम्झौता गर्ने भन्ने होइन । हामी रूपान्तरित हुन्छौं, एकताबद्ध हुन्छौं । छलफलकै क्रममा रहेकाले कसरी यस्तो हुन्छ अहिल्यै भन्न सकिन्न । तर हाम्रो प्रयास पार्टीलाई एकताबद्ध बनाएर जाने हो । भावी कार्यदिशा क्रान्तिकारी बनाएर हामी एकताबद्ध भएर जाने हो ।

No comments:

Post a Comment