Friday, January 28, 2011

अल्पमतका लेनिन र माओवादी

राजेन्द्र महर्जन


नेपालको सन् २०११ को जाडोभन्दा कता हो कता धेरै थियो, भोको र खिन्न रुसको सन् १९१७ को चिसो। लेनिन र कामिनेभ-जिनोभियभजस्ता बोल्सेभिक नेताको सम्बन्ध दाहाल-बैद्य र भट्टराईजस्ता माओवादी नेताको अन्तर-सम्बन्धभन्दा कम चिसो थिएन। तर लेनिनले कामिनेभ-जिनोभियभसँगको सम्बन्धलाई सशस्त्र जनविद्रोहका लागि भएको अन्तरसंघर्षको क्रममा पनि कठ्यांग्रिन र जम्न दिएनन्। उनले समाजवादी क्रान्तिका लागि गर्न लागिएको सशस्त्र जनविद्रोहविरुद्ध अन्तर्घातै गर्दा पनि कामिनेभ-जिनोभियभलाई अन्ततः माफी दिए। नेपालका माओवादी नेताले पनि शान्ति र संविधान नटुंगिए जनविद्रोह नै गर्ने कार्यदिशा तय गरेका छन्, तर अन्तरसंघर्षको नाममा पार्टीभित्र विद्रोह हुने अवस्था जन्माउन खोज्दैछन्। दुई लाइनको अन्तरसंघर्ष चलाउने क्रममा माओवादीका दुवै खेमाका नेताले देखाएको प्रवृत्तिले लेनिन र बोल्सेभिक पार्टीको वैचारिक द्वन्द्वको अनुभवबाट कमै पाठ सिकेको आभास हुन्छ।

एल्बर्ट रिस विलियम्सको 'अक्टोबर रिभोल्युसन एन्ड लेनिन' अनुसार, सेप्टेम्बर-अक्टोबर, १९१७ तिर भोक र जाडोले कक्रक्कै पर्ने गरी कठ्यांग्रिएको थियो सिंगो रुस। जाडोले क्रान्ति, सोभियतहरू र बोल्सेभिक क्रान्तिकारीलाई हिउँजस्तै जमाउने कामना गर्दै थियो, रुसको पुँजीपति वर्ग। सन् १९१७ को फरवरी क्रान्तिले जारको नेतृत्वमा रहेको राजतन्त्रलाई हिउँमुनि गाड्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसकेकाले सत्तासीन पुँजीपति वर्गचाहिँ जाडोलाई 'सर्वोत्कृष्ट मित्र' ठान्ने भइसकेको थियो। कक्रिएका गरिखाने जनता भने त्यस्तो जाडोमा पनि 'शान्ति, भूमि र रोटी' नपाएकाले फरबरी क्रान्तिबाट असन्तुष्ट र आक्रोशित हुँदैथिए भने उनीहरूको असन्तुष्टि र आक्रोशलाई बोल्सेभिक पार्टीमार्फत पोख्दैथिए लेनिन। फरबरीमा भएको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई समाजवादी दिशा दिन स्विट्जरल्याण्डमा निर्वासित लेनिन आफ्नै अधिकांश केन्द्रीय नेतासँग तातो बहस र विवादमा थिए, चिीपत्र र पत्रपत्रिकामार्फत्।

चार्ल्स बेतेल्हेमको 'क्लास स्ट्रगल इन द युएसएसआर'अनुसार फरबरी क्रान्तिपछि सत्तासीन पुँजीपति वर्गको अस्थायी सरकारलाई बोल्सेभिक पार्टीले मान्यता दिने कि नदिने भन्ने विषयमा १९१७ को जाडोमा पनि बहस जारी थियो। पुँजीपति वर्गविरुद्ध क्रान्तिकारी संघर्षको वकालत गर्ने लेनिन अस्थायी सरकारलाई मान्यता दिने पक्षमा थिएनन्। तर, अधिकांश बोल्सेभिक नेताले बहुमतका आधारमा अस्थायी सरकारलाई ससर्त मान्यता दिएपछि उनी अल्पमतमा परे। आफ्नो नेतृत्वमा प्रकाशित 'प्राभ्दा'मा पनि स्तालिन र कामिनेभले बहुमतीय निर्णयको पक्षपोषण गरिरहे।

अप्रिल ३, १९१७ मा स्विट्जरल्यान्डबाट रुस फर्केपछि लेनिनले बहुमतीय निर्णयविरुद्ध तीव्ररूपमा वैचारिक बहस चलाए, दुई लाइनको संघर्षको क्रममा। रुसको वस्तुगत स्थितिको प्रभाव र उनले छेडेको बहसको असरका कारण उनको लाइन अनेक प्रतिरोध झेल्दाझेल्दै पनि बिस्तारै विजयोन्मुख हुँदैगयो। बहसलाई सघन बनाउन लेनिनले 'अप्रिल थेसिस' छपाएपछि कामिनेभले भने पत्रिकामार्फतै प्रतिवाद गरेका थिए तर स्तालिन र जिनोभियभजस्ता नेताले लेनिनको मतलाई समर्थन गरेपछि कामिनेभ एक्लिए।

यत्ति हुँदाहुँदै पनि फरबरी क्रान्तिलाई समाजवादी क्रान्तितिर उन्मुख गराउने लेनिनको मतले पूर्ण जित प्राप्त गरेन, यसबारे 'क्लास स्ट्रगल इन द युएसएसआर'मा विस्तृत चर्चा गरिएको छ। केन्द्रीय समितिका बहुमत नेताले सेप्टेम्बरमा 'डेमोक्रेटिक कन्फरेन्स'मा भाग लिने अनि मेन्सेभिक पार्टी र सोसलिस्ट रिभोल्युसनरी पार्टीसँग मिलेर संयुक्त सरकार बनाउने सम्भावना खोज्न थाले। तर लेनिनले भने समाजवादी क्रान्तिलाई ध्यानमा राखेर 'सम्पूर्ण सत्ता सोभियतहरूलाई देऊ' भन्ने नारा दिए, जुन सबैजसो गरिखाने जनता, विशेषतः मजदुर र सैनिकको माग थियो।

सोभियत भनेको मजदुर र सैनिकहरूकै प्रतिनिधिबाट बनेको जनसत्ता थियो, त्यसैले सोभियतलाई सम्पूर्ण सत्ता दिनुपर्ने नारा वस्तुसम्मत र लोकप्रिय साबित भयो। अप्रिल महिनासम्ममा किसानहरूले पनि जमिनका लागि विद्रोह गर्न थाले, सोभियतको पक्षमा उभिन लागे। सबैजसो तह र तप्काका जनताको संघर्षको नेतृत्व बोल्सेभिक पार्टीले गर्न थाल्यो, जो आफैँ ठूलो संकटबीच त्यसको क्रान्तिकारी समाधानबारे ठूलै अन्तरसंघर्षमा थियो। त्यतिखेर लेनिनको आँखामा गाउँमा जनवादी क्रान्ति र सहरमा समाजवादी क्रान्ति तीब्र हुनथालेको थियो, विभिन्न वर्गको अन्तरसम्बन्ध संघर्षतिर गतिवान भइसकेको थियो। अब तुरुन्तै सशस्त्र जनविद्रोहमार्फत समाजवादी क्रान्ति थालिहाल्नुपर्छ भन्ने उनको निष्कर्ष थियो।
बोल्सेभिक पार्टीको नेतृत्वमा गाउँदेखि सहरसम्म मजदुर, किसान र सैनिकले सशस्त्र विद्रोह थालिसकेपछि पनि धेरैजसो बोल्सेभिक नेता भने सशस्त्र जनविद्रोहको नेतृत्व गर्न हिच्किचाइरहे। अस्थायी सरकारले किसान विद्रोहमाथि सैन्य दमन तीब्र पार्न थालेको बेला शान्तिपूर्ण संघर्ष र संयुक्त सरकारका लागि वार्ता गर्नु क्रान्तिलाई सिध्याउनु र किसान विद्रोहलाई घात गर्नु हो भन्ने लेनिनको ठम्याइ अन्य बोल्सेभिक नेतालाई स्वीकार्य भएन। उनीहरूसँग लामो बहस र विवादबीच लेनिनले तुरुन्तै सशस्त्र जनविद्रोह गरिएन भने क्रान्ति भड्खालोमा जाकिने कठोर चेतावनी दिँदादिँदै पनि अन्य नेताले त्यसको तात्कालिक महत्व बुझ्न सकेनन्। वस्तुगत स्थितिको सही विश्लेषण गर्ने र त्यस विश्लेषणलाई ठीक समयमा प्रयोग गर्ने मामिलामा बोल्सेभिक नेताहरू धेरै पटक चुके।

तत्कालै क्रान्ति थालिहाल्न सकिएन भने प्रतिक्रान्ति हुने डरले सताएका लेनिनले लामालामा बहस र विवादसँगै लेखनमार्फत पनि क्रान्तिका लागि अपिल गर्न थाले। आफ्ना केही लेख बोल्सेभिक नेताहरूबाट सेन्सरसमेत भएपछि उनले पार्टी नेतृत्वमा आफू एक्लिएको महसुस गरे। 'बोल्सिन्स्त्वो' (बहुमत) शब्दबाट बनेको बोल्सेभिक पार्टीका संस्थापक नेता नै 'मेन्सिन्स्त्वो' (अल्पमत)मा परे, र पनि उनले जीवन्त बहस गर्न कहिल्यै छाडेनन्। जति बहस गरे पनि क्रान्तिका लागि नेतृत्व तयार नभएपछि उनले केन्द्रीय समितिमा राजीनामा पेस गरे, महाधिवेशनमा संघर्ष गर्ने, नेता-कार्यकर्ताबीच क्रान्तिका लागि अभियान चलाउने घोषणा गर्दै। लेनिनले राजीनामै पेस गरेपछि बोल्सेभिक नेताहरू अत्यन्त गम्भीर भए अनि अक्टोबर १० मा भएको केन्द्रीय समितिको बैठकले तुरुन्तै सशस्त्र जनविद्रोह गर्ने निर्णय गर्‍यो।

हुन त केन्द्रीय समितिका १० जनाले सशस्त्र जनविद्रोहको प्रस्तावलाई समर्थन गरे, लामो समयसम्म लेनिनको विरोध गर्दै आएका लियोन त्रात्स्कीले पनि समर्थन गरे, स्तालिनले जस्तै। तर कामिनेभ र जिनोभियभले त्यसको विरोधमात्रै गरेनन्, लेनिनको क्रान्तिकारी लाइनविरुद्ध सार्वजनिकरूपमा अभियानै चलाए। अन्ना लुई स्ट्रङको 'एज अफ स्तालिन'अनुसार उनीहरूले जनविद्रोहकै मौकामा गद्दारी गरे, विरोधी समाचारपत्रमा जनविद्रोहको ब्यहोरा नै छाप्न लगाएर। जनविद्रोहको समयमा गद्दारी गरेपछि उनीहरूलाई पार्टीबाट निष्कासन गर्नुपर्ने माग गरेपनि उनीहरू निष्कासितै भने भएनन्। अक्टोबर २० मा केन्द्रीय समितिको बहुमतले उनीहरूको राजीनामा माग्ने निर्णय गर्‍यो, त्यही निर्णय पनि पालना भएन, जनविद्रोहका कारण। अक्टोबर २५ मा जनविद्रोह थालिहालेपछि उनीहरू पनि समाजवादी क्रान्तिमा हाम्फालिहाले। उनीहरूले फेरि केन्द्रीय समितिले दिएका महत्वपूर्ण राजनीतिक जिम्मेवारी सम्हाल्न थाले। उनीहरुको समर्पण देखेर लेनिनले माफी दिए, क्रान्तिविरुद्ध पहिले गद्दारी नै गरे पनि।

अक्टोबर समाजवादी क्रान्ति सफल भएपछि पनि बोल्सेभिक पार्टीमा अन्तरसंघर्ष भने कहिल्यै कम भएन। प्रत्येक जीवन्त संघर्षले ताजा रक्तसंचार गरेको, नयाँ वस्तुगत नीति र कार्यक्रम बनाउन सघाएको पाइन्छ। वैचारिक र राजनीतिक अन्तरसंघर्षको आगोमा खारिएको बोल्सेभिक पार्टीको इतिहासमा लेनिनले प्रत्येक पार्टी कमिटी र नेताकार्यकर्तालाई स्वतन्त्र निर्णय गर्ने क्षमता बढाउन बहसलाई उक्साएका थिए। उनी त केन्द्रीयताको कठोर नियन्त्रण र अनुशासनको निर्मम पालनाबाट अलिकति बहकिने सम्भावनालाई पनि इन्कार गर्दैनथे र उनीहरूप्रति सहिष्णु हुनुपर्छ भन्थे। 'एक पाइला अगाडि, दुई पाइला पछाडि'मा आआफ्ना फरक मतबीच व्यापक अन्तर्क्रियाको जरुरतप्रति जोड दिँदै उनी विभिन्न प्रवृत्तिबीच द्वन्द्वलाई पार्टी जीवनका लागि अत्यावश्यक ठान्थे।

लेनिन भन्थे, कम्युनिस्ट पार्टी भनेको समाजवादी समुद्रको एकलास टापु होइन, वर्गीय समाजकै एक अंग हो, त्यसैले समाजमा भएका पथभ्रष्ट मत र क्रान्तिकारी विचारको प्रतिविम्ब पार्टीमा हुने र तिनीहरूबीच द्वन्द्व पनि हुने गर्दछन्। क्रान्तिकारी विचारले पथभ्रष्ट पुँजीवादी विचारविरुद्ध वैचारिक संघर्षमा जित हासिल गर्ने क्षमता र कौशल प्रदर्शन गर्नुपर्छ। जनवादी केन्द्रियताको आधारमा निर्णय अनि लोकतान्त्रिक निर्णयको क्रियान्वयनमा अनुशासनको अभ्यासबारे उनी जति स्पष्ट थिए, त्यति नै अडिग थिए, अभिव्यक्ति स्वतन्त्रताप्रति पनि। खुलेआम र जीवन्त बहसको वकालत अनि अभ्यास गर्ने लेनिनले महान् संकटकै बीच भएका बहस र विवादलाई संश्लेषण गर्दै 'विगतका वर्षमा हाम्रो पार्टीमा दन्केको संघर्ष अत्यन्त फलदायी भयो' भनेर त्यत्तिकै भनेका होइनन्। हुन त यसले ठूलठूला विवाद र षड्यन्त्र पनि प्रकट गर्‍यो, तर यस्ता विवाद र षड्यन्त्र नभएका भए संघर्ष र एकता पनि हुँदैनथे।

प्रत्येकजसो विवाद र संकटलाई सकारात्मक ढंगले उपयोग गर्न सक्नु लेनिनको खुबी थियो। चार्ल्स बेतेल्हेमका अनुसार उनको विशिष्ट खुबी थियो: जनसाधारणको ढुकढुकी सुन्नसक्नु अनि सिद्धान्तबाट खँदिलो ढंगले प्रशिक्षित हुनु। यी दुई खुबीमा ज्वारभाटाविरुद्ध पनि जाने र एक्लो हुने सर्तमा पनि नडराउने राजनीतिक साहस पनि जोडिएको थियो। यस्ता खुबी र साहसका साथ नेतृत्व गर्ने लेनिनमा पार्टीका र आफ्ना गल्ती स्वीकार्ने विनम्रता पनि थियो नै। हुन त लेनिनसँग कुनै कम्युनिस्ट पार्टीको सुनौलो इतिहास थिएन, सकारात्मक वा नकारात्मक पाठ सिक्न। तर, लेनिनलाई आफ्ना गुरू मान्ने दाहाल-बैद्य-भट्टराई र उनीहरूको पार्टीसामु लेनिन र लेनिनको नेतृत्वमा अक्टोबर समाजवादी क्रान्ति गरेको बोल्सेभिक पार्टीको विशाल इतिहास र सोभियत समाजवादको पतनको वर्तमान पनि छन्, अन्तरसंघर्षसम्बन्धी राम्रानराम्रा शिक्षा लिन। यदुवंशी शैलीमा अस्त्र उचाल्दै बसेका दाहाल-बैद्य-भट्टराइसामु उभिएको ज्वलन्त प्रश्न हो - अन्तरसंघर्ष हुनासाथ आफूलाई 'लेनिन' र अरूलाई 'कामिनेभ-जिनोभियभ' ठान्दै रमाएर बस्ने कि लेनिनले गरेका अन्तरसंघर्षबाट पाठ पनि सिक्ने हो?
.

No comments:

Post a Comment