Friday, January 28, 2011

माओवादीको दुःख

खगेन्द्र संग्रौला

'ठोस परिस्थितिको ठोस विश्लेषण' ब्लादिमिर इल्लिच लेनिनको नामी सूत्र हो। समाजवादको लेनिनीय मान्यतामा विश्वास गर्ने कम्निस्टहरूका लागि यो सूत्र थेगोसरह हो। तर, अचेल यो सूत्र उति सारो चल्तीमा छैन। यदाकदा माओवादी यसको प्रयोग गर्दा हुन्। तर, माओवादी आफू भने ठोस परिस्थितिको तरल विश्लेषणमा रुमल्लिएझैँ लाग्छ। हुनलाई माओवादी शन्ति र संविधानको आधा फ्याक हो। बाँकी जम्मै जोडेर एक आधा, ऊ एक्लै एक आधा। इतिहासको टेबुलमा अलपत्र परेका परिवर्तनका बुँदाको मूल स्रष्टा माओवादी हो। र, ती बुँदालाई संस्थागत गर्ने माउ जिम्मा पनि उसैको हो। हुनलाई माओवादी संविधान सभाको चुनावबाट निस्केको रोल नम्बर एक हो, र त्यो रोल नम्बर वयस्क मतदताले दिएको विश्वासको प्रमाणपत्र हो। तर, यथार्थमा माओवादी जोगीजस्तो छ। मानौँ ऊसँग धेरै चिज छ र ऊसँग केही छैन। सत्ताका खोपामा ऊ कहीँ छैन। र, सत्तामा उसको पहुँच, प्रभाव र पकड शून्यप्रायः छ। उसको भागमा फगत उपेक्षा परेको छ। र, ऊ एउटा थाङ्नोपछि अर्को थाङ्नोमा सुताइन अभिशप्त छ।
सत्ता माओवादीइतर बहुरङ्गी तत्वको कब्जामा छ। र, माओवादीमाथि सत्ता कब्जा गर्ने आरोप छ। इतिहासका कठोर सीमालाई बुद्धिमत्तासाथ स्वीकार गरी एक दलीयता छाडेर बहुदलीयतामा भित्रिएको माओवादी सत्तामा एउटा गुन्द्री अटाउने ठाउँ खोज्छ। तर, ऊ त्यही पनि पाउँदैन। कब्जाकारीहरू माओवादीको शक्ति, कीर्ति, लोकप्रियता र सम्भावना सबै मासेर उसलाई वनबास पठाउन सततः यत्नशील छन्। तिनको यो यत्नमा सत्तामा सदैव ढलीमली गर्ने नबाबी आकांक्षाले वास गरेको छ। माओवादी चाइने येन केन प्रकारेण बहुदलीय प्रतिस्पर्धाको डबलीमा टुसुक्क बस्ने ठाउँ पाए हुन्थ्यो भनी नानाओली जमर्को गर्छ। आखिरमा एकपछि अर्को थाङ्नोमा सुताइँदा धैर्य शेष भएको माओवादी सत्ता कब्जा गर्ने ध्वाँस जारी गर्छ। र, के निहु" पाउँ कनिका बुकाउँको दाउ पर्खिबसेका सत्ताधिपतिहरू ऐलान गर्छन्- यसले फेरि कब्जाका कुरा गर्‍यो। यसलाई किनारा लाएर चरी नाङ्गै बनाउनुपर्छ। बस्, चल्तीको दिशाहीन र गतिहीन राजनीतिको चुरो कुरो यही हो।

थाङ्नो स्वभावतः गन्हाउँछ। गन्ध सुङ्दै जाँदा चेत्नु बुद्धिमत्ताको दसी हो। तर, ठोस परिस्थितिको तरल विश्लेषण गर्ने माओवादी थाङ्नोपछि थाङ्नोको यात्रामा गतिमान् छ। सत्ताधारीहरू बल्छी देखाउँछन्। बल्छीको टुप्पोमा प्रधानमन्त्रीरूपी चारो अल्झाइएको हुन्छ। बल्छीधारीहरू भन्छन्- त्यो चीज बुझा, यो चीज पाउँछस्। जेठ १४ को पूर्वसन्ध्यामा यिनले यसै भने। प्रधानमन्त्री पद जित्ने आशामा माओवादीले संसद् घेराउ छाड्यो। तर, सत्ताधिपतिहरूका मुखारविन्दबाट कथा पुरानै दोहोरियो। पहिले वाइसीएलको अर्धसैनिक संरचनाको खारेजी, जफत सम्पत्तिको वापसी, गङ्गा स्नान, गहुँत सेवन, जनै धारण.....। अनि विधिवतरूपले तेरो जात चलेपछि बल्ल प्रधानमन्त्रीको निर्वाचनको सौभाग्य प्राप्ति। राजनीतिको रथ अल्लाघारीमा अड्केको अड्क्यै भयो। जब निर्वाचन आयो, श्री श्यामशरणको सवारीले निर्वाचनको गर्भपतन गरिदियो। र, माओवादी फेरि पनि सत्ताको कान्लैमुनि पर्‍यो।

अस्थायी सैन्य शिविरको सा"चो हस्तगत गर्ने कुरो चल्दै थियो। एक दिन बैठकबाट माओवादीका श्री काजी बाहिर निस्के। तिनले समाचार सुराकीलाई भने- अब भने कुरो अँध्यारोबाट उज्यालोतिर उन्मुख भयो। सरकारमा अन्ततः हाम्रालागि ढोका खुल्ने भयो। यताको साँचो उता, उताको प्रधानमन्त्री पद यता। श्री काजी उत्तेजित थिए। ती प्रसन्न थिए। तर, तिनको हाराहारी उभिएका कांग्रेस र एमालेका मुखले भने- यो फगत झिनो सम्भावनाको कुरा हो। गर्दै भन्दै जाँदा नतिजा जे पनि हुनसक्छ। दिनेहरू धारमा राखेर कुरो गर्दै थिए। पाउने श्री काजी ठोस परिस्थितिको तरल विश्लेषण गरेर बित्थामा फुर्किएका थिए। मानौँ तिनका मथिङ्गलमा पहिलेका थाङ्नाहरूको गन्ध विस्मृत भइसकेको थियो।

सैन्य शिविरको साँचो बुझाउनु ठुलो कुरो थियो। यत्रो ठुलो कुरो बुझाएपछि जाबो प्रधानमन्त्री पद कसो हात नपर्ला भनेर माओवादीले भयङ्कर जोखिम उठायो। माओवादीका शिखर पुरुष सरकार हाँक्ने पालो अब मेरो भनेर प्वाक्क बोल्दै हौसिए पनि। तर, जब साँचो हात पर्‍यो, सत्ताधिपतिहरूको बोली उत्निखेरै फेरियो। बुझाउनुपर्ने साँचोमात्र होइन, सेना र तिनका बन्दुक पो हो † सग्लै, सिङ्गै र डल्लै। त्यो पनि पछि होइन, अहिल्यै। सेना र बन्दुक हुने पार्टीको पवित्र सत्तामा जात चल्दैन। सत्ताधिपतिहरू पुरेतको आसनमा माथि छन्, माओवादी अछुत भनिने दलितको आसनमा तल छ। तिनले पतिया नगरुन्जेल माओवादी अनागरिक र अछुत पार्टी त हुने नै भयो। यो मनु महाराजकृत सनातनी शास्त्रवचन हो।

सहमतीयको गफ यसपाला पनि गफै भयो र गोकर्णको वनमा विलीन गयो। अब बहुमतीय नाटकको उही बासी द्वार खुल्दै छ। द्वारभित्र कसको तालुमा आलु फल्दै छ दिल्लीबासी निरुपमा रावलाई अवश्य थाहा छ। त्यो तालु निश्चितै रुपले माओवादीको नहोला। हुनलाई उसलाई उँधोका भगवानको वरदान प्राप्त हुनुपर्छ। जसको भक्तिको मात्रा न्यून छ, उसलाई भगवानको वरदान प्राप्त हुन गाह्रै छ। यो आदि कालदेखिकै सत्य हो। र, यसको अर्थ हो, यसपाला पनि माओवादीको आसन सके सत्ताको आँगनको पल्लो छेउको झुत्रो बोरा नै हो।
सत्ताको यो अन्तहीन तानातानीको रहस्य गर्भमा दुई तत्वले बास गरेका छन्। जो सत्ताका अधिपति थिए र छन्, तिनलाई शान्ति भए पुग्छ। सत्ता, शक्ति, दौलत, सुरक्षा र सम्मान ती मुठ्ठीभरलाई छेलोखेलो पुगेको छ। तर, अगणित दलित, गरिब र अपहेलितहरूलाई न्याय चाहिएको छ। न्यायरहित शान्ति तिनका लागि लासामा सुन छ कान मेरो बुच्चै भनेजस्तै हो। भोको मानिसको पेट नभरिई शान्ति हुँदैन। अशिक्षितका आँखा नखुली शान्ति हुँदैन। बौद्धिक र प्राविधिक सीपका गरिबलाई गरिखाने र व्यक्तित्वको मौलो गाड्ने सीप नभई शान्ति हुँदैन। पहिचान र संस्कृति हरिएकाहरूलाई पहिचान र संस्कृतिको हक हात नपरी शान्ति हुँदैन। राज्यविहीनहरूलाई राज्यको अंशभाग नपाई शान्ति हुँदैन। त्यसैले यी सबलाई देखिने र बुझिने गरी आफ्नो भाग्य लेखिने संविधान चाहिएको छ। यिनले यी सबै चीज पाउनु भनेको सत्ता र शक्ति एवं दौलत र संस्कृतिका एकाधिकारीहरूको वर्चस्व खुम्चिनु र टुक्रिनु हो। त्यसैले यिनका नजरमा यिनको सनातनी स्वर्गको रक्षा संविधान नलेखिनुमा छ। र, यिनको भाग्य सुरक्षित गरिदिने भगवान्को यिनलाई अपार आशीर्वाद छ।
माओवादी ठोस परिस्थितिको तरल विश्लेषण गरेर घरीघरी आफ्नै मनचिन्ते कल्पनाबाट आफ्नो दुःख बढाउँछ। उसलाई लाग्दो हो, प्रधानमन्त्रीको गद्दी अब दूर छैन। तर, यो मिथ्या आकलन र अपेक्षा हो। माओवादीले जब सेना र हतियार बुझाउँछ तब सायद उसलाई भनिएला- बाबु † नागरिक पार्टी हुनुअघि बुझाउन बाँकी अनन्त छ। वाईसीएल अनस्तित्वलाई बुझाऊ। र, जफत सम्पत्ति हकवालालाई सुम्प। मर्जीबमोजिम जब माओवादी बुझाउँछ तब उसलाई भनिएला- बाबु † तिम्रो सास गन्हाउँछ। दुई हप्ता अदुवा र बोजो खाएर आऊ। माओवादी जब खाएर आउँछ, उसलाई थप आज्ञा गरिएला- वत्स † पवित्र गङ्गाजीमा स्नान गरेर देहमा अपवित्र किटाणुनाशक गहुँत छर्केर आऊ। यो सब गरिसक्दा माओवादी सौर्यविहीन, आवेगविहीन, ऊर्जाविहीन र आभाविहीन खाओवादी भइसकेको हुनेछ। तैपनि उसलाई केरकार गरिएला- बाबु † बहुलवादबारे तिम्रो के विचार छ?

ठोस परिस्थितिको तरल विश्लेषणका कारण माओवादी ताछिँदो छ, खुइलिँदो छ र उपहासको पात्र बन्दो छ। नपाइने कुर्सीका लागि निरन्तर कन्नुको साटो माओवादीले सत्ताका अधिपतिहरूलाई सरकार तिमीहरू चलाऊ र संविधान बनाउन हात बढाऊ, तिम्रा कर्मको गुणदोष हेरेर म कर्म गरु"ला भन्न किन नसकेको होला? अन्तहीन थाङ्ना सुतानमा आखिर के आनन्द छ?

No comments:

Post a Comment