Friday, May 7, 2010

राम्री लाग्यो नुवाकोटकी गोरीमाया

तिलक चाम्लिङ
साँच्चै राम्री छे नुवाकोट चिन्डे गाउँकी गोरीमाया । लाम्चिलो गोलो अनुहारमा सानासाना आँखा पाकेको आरुबखडाजस्तो ओंठ भएकी यी तामाङ्नी केटी शारीरिक रुपमा जति राम्री थिई आहा ! त्योभन्दा राम्रो त उनको सङ्घर्षशील जीवन छ । हाँसूहाँसू लाग्ने आफ्नै कल्पनाले आफूलाई काउकुति लाग्ने १६ वर्षकी उनको सुन्दर उमेरको गाउँभरि प्रशंसा हुन्थ्यो । गरिबकी छोरी थिई । कार्की परिवारका धनी छोरोसँग उनको विवाह भयो । तर गरिबी र गैरजातिसँग विवाह गरैकै कारणले दाम्पत्य जीवन सुखद् रहेन । विवाह उनको लागि अभिशाप भयो । अछूतको सास्ती त व्यहोर्नु पर्योपर्यो आफ्नै बहुला श्रीमान् कृष्णे कार्कीले पनि कुट्न थालेपछि उनको मन थाम्ने ठाउँ रहेन । त्यसकारण आधा रातबीच चिहानघारीको बाटो हुँदै जन्मथलो फर्किन् गोरीमाया । गाउँलेहरुले घर गर्न नसक्ने भनेर उल्टै गोरीमायाको कमजोरी देखाए ।
गोरीमायाको बा घ्याबरिङ बुढालाई छोराले छाडेको पनि धेरै भयो । श्रीमती मरेकै ५/६ वर्ष भइसक्यो एक्ली छोरी पनि यो हालतमा आइपुगी । चिन्ताले पिरोलिएको देख्दा बुबाको मन राख्न खोज्थी गोरीमाया । उनी सारा गाउँलाई नै सिनो गनाइरहेको उजाड देख्छिन् । सहानुभूति दिने मान्छेहरु गाउँमा भए पनि आफ्नै जन्मथलोमा बस्न पटक्कै मन थिएन उनलाई ।
साहेब्नी चन्द्रकान्ता अर्थात् डीएसपी भीष्मबहादुर आलेको घरमा काम गर्ने केटीको खोजी गर्ने क्रममा छ्यामाको छोरो साइँला दाइ काठमाडौँबाट आइपुग्यो । महिनाको ४० रुपियाँ पाइने आसमा उनी साइँला दाजुको आड लागेर काठमाडौँ पुग्छे । बानेश्वरको डीएसपीको शानदार घरमा घरधन्दा गर्न गोरीमाया आइपुगिन् । पहिलोपटक तन्ना ओछ्याएको खाटमा यहीँ हो उनले सुतेको । उनकी साहेब्नीको इतिहास पनि गजबकै छ । दार्जेलिङको गल्छेडोमा अवैध धन्दा गरेर बस्थी । आफूले जन्माएको छोरो लालबहादुरको बाबु को हो साहेब्नी चन्द्रकान्तालाई नै थाहा थिएन । उनलाई डीएसपी भीष्मबहादुरले छोरो बनाएका थिए । चन्द्रकान्ता लालबहादुर र भीष्मबहादुरको तीनजनाको परिवारमा गोरीमाया थपिएपछि चारजनाको परिवार भयो । डीएसपी कहिलेकाहीँ मात्र घरमा ´ुल्किन्थे ।
लालबहादुर अल्पभाषी तर साहुनी फतरफतर बोल्थी । मान्छे कामले मर्दैन खानले मर्छ भन्दै साहेब्नीले गोरीमायालाई काम सिकाउँथी । गाउँमा घाँसदाउरा गर्दागर्दा खारिएकी गोरीमायाले घरको काम त एकैछिनमा सिनित्तै पार्थी । उनलाई त्यो घरमा कुनै किसिमको अप्ठ्यारो परेको थिएन ।
लालबहादुर र उनका साथीहरु प्रगतिशील विचारधाराका थिए । उनका बाबु आले साहेब डीएसपी थिए । एउटै घरमा विपरीत विचारधाराका प्राणी थिए । अर्थात् भूमिगत राजनीतिमा लागेका छोरा र निरङ्कुश पाचायती सरकारका इमानदार सेवक आले साहेब जो आफ्नै साथीहरुबाट मारिए र हत्यारा लुकाइयो ।
पूर्व पाँचथर जिल्ला याशोक गाउँकी लिम्बुनी सुवानी साङ्गठनिक कामको सिलसिलामा प्रायः लालबहादुरलाई भेट्न आउँथी । उनी पढ्न भनेर काठमाडौँ छिरेकी थिई । तर पढाइ छोडेर भूमिगत विद्यार्थी राजनीतिमा लागिन् । सुवानी लालबहादुर एमआर र प्रदीप तीनैजना २०३५/३६ सालको विद्यार्थी राजनीतिका केन्द्रीय पात्रहरु हुन् । विद्यार्थीआन्दोलनकै कारण सरकार जनमतसङ्ग्रह घोषणा गर्न बाध्य भयो । सुवानीकै सङ्गतले गोरीमाया राजनीति र शोषणजस्ता कुराहरु बुझ्न सक्ने भइसकेकी थिई । गोरीमायासँग सामाजिक दुखेसोको पोका जति ठूलो छ त्यस्तै राजनीतिक आन्दोलनमा हिँड्दा खेपेको दुःखको पोको सुवानीसँग छ । यस उपन्यासको केन्द्रीय पात्र उनै सुवानी हुन् । उनको घरमा सम्बन्ध बिग्रेको छ । छोरालाई जस्तो छोरीलाई राजनीति गर्न सजिलो छैन । थुप्रैले कुरा काटेर हिँड्छन् । अत्यन्त स्वाभिमानी छिन् उनी । एक दिन उनी बलात्कृत हुन्छे । घटनाको भोलिपल्ट पत्रपत्रिकामा ठूलै खैलाबैला मच्चिन्छ । कार्यकर्ताहरु आफ्नो नेतामाथि भएको यस्तो अपमानको विरुद्धमा आगॊ हुन्छन् । यही घटनाले सुवानी मानसिक रुपमा कमजोर हुन्छे । सान्त्वना दिनका लागि उनको कार्यक्षेत्र तराईतिर पारिन्छ ।
लालबहादुर सहिद भइसकेका छन् । आले साहेबको पनि सुकुम्बासी आन्दोलनमा सङ्कास्पद ढङ्गले मृत्यु भइसकेको छ । अहिले गोरीमाया बसेको घरमा शून्यता छाएको छ । चन्द्रकान्ता जस्तोसुकै दुःखमा पनि हाँस्न सक्ने मान्छे छोरो र श्रीमान् को मृत्युपछि निराश भएकी छे । गोरीमायालाई यो घरप्रति खुब श्रद्धा छ । आफ्नो बिरामी बुबाको सुर्ता जति गर्थी त्यतिकै सुर्ता गॊरीमायालाई यो घरको छ ।
'अनिदो पहाडसँगै'पारिजातको पढ्नैपर्ने उपन्यास हो । यो पुस्तक समाजमा भएका अन्यायअत्याचारको विरुद्ध उभिएको छ । गोरीमाया र सुवानी यस उपन्यासका आदर्श नारी पात्र हुन् । लालबहादुर एमआर तथा प्रदीपजस्ता पात्रहरुको पनि कम भूमिका छैन । उनीहरुको सङ्घर्पशील जीवन युवाहरुको प्रेरणाको स्रोत हो ।
चौथो प्रकाशनको समेत तयारी हुँदैगरेको यो उपन्यास नर पल्लबले अङ्ग्रेजीमा अनुवाद गरेका छन् । गोरखापत्र दैनिकको राई चाम्लिङ भाषामा पनि नियमित प्रकाशन हुँदै आएको छ ।
पारिजात शारीरिक रुपमा कमजोर थिइन् । तर त्यसले उनको साहित्य साधनामा कुनै असर गरेन । कथाकार उपन्यासकार संस्मरणकार नाटककार निबन्धकार र कविका रुपमा हामी पारिजातलाई चिन्दछौँ । पारिजातले थुप्रै साहित्यिक कृतिहरु रचाना गरेका छन् । उनका तीनतीनवटा कवितासङ्ग्रह र आत्मसंस्मरणात्मक पुस्तक एकएकवटा निबन्ध र नाटक चारवटा कथासङ्ग्रह र १० वटा उपन्यास प्रकाशित छन् । यी रचनाहरु प्रायः सबै राम्रा छन् । त्यसमध्ये यो 'अनिदो पहाडसँगै' युवाहरुले पढ्नै पर्ने पुस्तकभित्र पर्दछ ।

No comments:

Post a Comment