Thursday, April 29, 2010

कठिनाको पहाड

आगोको ज्वालामा खेल्ने
शिखा टिपेर दिन्छौ भने
अस्मिता टेकेर उभिएमो कठिनाको पहाड
फुट्ट कटाएर लैजान्छु तिमीलाई
छाप्रोहरुको आफ्नै दुःखी संसार
विहान बोकेर तिमीहामी संगै हिँड्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

आँसु बग्ने अनुहारका धर्सा धर्सा र बलेसीहरु
तिमीलाई’नि हिँड्न सिकाउँला
जोखिम टाँगिएको कठिनाको पहाडमाथि
पहाडै उठाएर हिँडिरहेको
ताँतीका ताँती भरियाहरु हेरौँला
बिहान बोकेर तिमीहामी संगै हिँड्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

ढाकर बोकेर बेसाहाको बाटो हिँडेका
भोको देशका देवताहरुसंग
नक्कली नागरिकता हुँदैन
कालापानीबाट छिर्नै सक्दैन
सुस्ताबाट’नि छिर्न सक्दैन
महँगोमा बेसाएका गहुँका दानाहरु
धाकरको चुली चुल्याएर
भिरैभिर हिँड्ने दुःखी देबताहरुसंगै बसम्ला
तिमीले कठिनाको पहाड चिन्नु पर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

तिमीलाई यहाँबाटै देखाइदिन्थेँ
छाप्राहरुको आफ्नै संसार
छेकिहाल्छ कठिनाको पहाडले
दक्षिणतिरै मोहडा फर्काएर उभिएको
कति हेर्नु यो छली कठिनाको अनुहार
कोही बहादुर जन्मिएन र त होला
हजुरबाको पालाको दुःख
नातिको थाप्लोमा नाम्लोले बेरिरा’छ
तिमी शिखा बोकेर हिँड्नु
हामीले नि आगोको झिल्का टाँग्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

No comments:

Post a Comment