सिर्कनाले हाचा गर्दै
नेपाली सर कोठामा छिरेपिछ
छपक्कै मिलेर बस्थ्यौँ
डरसरिको सास लुकाएर ।
अंग्रेजी नजान्नेले
आफ्नै आगनमा शीर खसाएझैं
भाषा नमिलेर
खुकुरीको चित्रकलालाई 'दाब्या' भन्दा
सबैले हाँसेपिछ
लाजले पढ्दिन भनेको थिएँ आफ्नै आमालाई ।
पिँजडाबाट उम्किएको चरीजस्तै खुसी भएर
स्कुलमा टिफिनको घन्टी बजेपिछ
किताबको भारीसंग फाल मार्दै आएर
आमाको पोल्टाभरि आफ्नै लवजमा
ढुक्कको सास फेर्दा कम्ता रमाइलो लाग्थेन ।
राष्ट्रिय धर्म हिन्दु भन्न नजान्दा
राष्ट्रिय भाषा नेपाली भन्न नजान्दा
सिर्कनाको सुम्ल्याइ सहन नसकेर
साथीभाइकै अघि तुरुक्कै रुइदिएको छु
अझै पनि बिरामी हुन्छु सिर्कना देखेँभने ।
राजाको सिँदुर पहिरिनेले
हवाइजहाज चढ्न पाइन्छ भन्दै
आमाले फुकाएपिछ
गोरखापत्रको खोल हालेको
राजाको फोटो भएको
महेन्द्र मालालाई कख्याएर स्कुल पुग्थेँ
लाम बस्दा भाँती पुर्र्याएर
'श्रीमान् गम्भीर नेपाली …' कण्ठस्त मुखाग्र सुनाउनलाई ।
दाब्या = खुकुरी
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment