Thursday, November 18, 2010

समायोजनको मोडल


बाबुराम भट्टराई


शान्तिप्रक्रियामा आइसकेपछि १० वर्षे द्वन्द्वको अन्त्य भएर हामी सबै नयाँ नेपाल, लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्ने अभियानमा लागिसकेपछि एउटा पर्खाल कताकता कायमै रह्यो। हामी हिजो द्विपक्षीय पक्ष आपासमा लड्यौं, त्यसको कताकता नयाँ पर्खाल बाकीँ रहेको हो कि भन्ने कुराले असाध्यै चिन्तित र पीडित बनाउने गर्थ्यो। त्यसलाई तोड्न हाम्रोतर्फबाट केही कोशिष त गर्‍यौ तर कायमै रह्यो। सायद हाम्रो अनुभव वा त्यति राम्रो ढंग पुगेन। हिजो लडेर दुई कित्ताका पर्खाल कायमै रह्यो भने हामीले शान्तिका जतिसुकै चर्का कुरा गरे पनि त्यसको कुनै तात्विक अर्थ रहदैन। सायद अहिलेसम्म हामीले प्रगति गर्न नसकेको समस्याको गाठो परेको त्यहीनेर हो। यसलाई कम्युनिकेसन ग्याप भन्ने हो कि या हाम्रो अनावश्यक शंकालु स्वभाव भन्ने हो अथवा कसैले यसभित्र खेलेको र हामी असाध्यै लाटा भएर बुझ्न नसकेका हौं, त्यो दुरी मेटाउन सकेनौं। त्यसले पनि एउटा समस्या बनाएकै हो।
विस्तारै त्यो पर्खाल भत्कदैछ, फेरि एकै ठाउँमा बसेर आफ्ना लागेका कुराहरू आदान प्रदान गर्नु शान्तिप्रक्रियाका लागि सार्‍है राम्रो सूचक हो। जसरी यस कार्यक्रममा नेपाली सेनाका महत्वपूर्ण भूमिका खेल्ने जर्नेलहरू (पूर्वरथीद्वय चन्द्रबहादुर गुरूङ, सदिपबहादुर शाह, पूर्वउपरथी शिवराम प्रधान र पूर्वसहायकरथी केशरबहादुर भण्डारी) उपस्थित हुनु भएको छ, कतिपयले आफ्नो विचार पनि व्यक्त गर्नुभयो, त्यसले शान्तिप्रक्रियालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास मलाई अझै जागृत भएको छ।

कतिपय मान्छेको बुझाइ छ, सेना समायोजन माओवादीको चासो हो र अरूले सेना समायोजन चाहँदैनन्। सेना समायोजन नगरीकन पनि शान्तिप्रक्रिया टुंगिन्छ भन्ने जुन कुरा राख्छन्, र समायोजन भन्ने शब्दलाई विर्सेर कुनै पनि ढंगले जनमुक्ति सेनाको विघटन कुरा मात्र राख्छन्। खाली पुनर्स्थापनाको कुरा गर्छन् र जनसेनालाई घरघर पठाउने भन्छन्। कसरी छिटो क्याण्टोनमेण्ट खाली गर्ने भन्ने विषयको चर्चा हुने गर्छ, त्यसले ठूलो समस्या सिर्जना गर्ने गर्छ। १२ बुँदे समझदारी, वृहत शान्तिसम्झौंता, अन्तरिम संविधान, सेना तथा हतियारको संयुक्त अनुगमनसम्बन्धी सम्झौंतामा जुन कुरा लेखिएको छ, त्यहाँ स्पष्टसँग क्रमगतरुपमा तीन शब्द भनिएको छ। माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापना।

हामीले नामचाहिं जनमुक्ति सेना नै राखौं भन्ने थियो तर त्यतिवेला साथीहरूले लामो नाम किन्नु राख्नुुपर्‍यो र सेना भने भइहाल्यो नि भन्नुभयो। लामो छलफलपछि हामीले पनि ठीकै छ माओवादी सेना भन्नेमा सहमति भयो। त्यसले स्वीकार गरिएको तथ्य के हो भने, यो पनि एउटा सेना नै हो र त्यसको रेखदेखको जिम्मेवारी राज्यको हो। त्यसको स्पष्ट अर्थ हो, जनमुक्ति सेना राज्यको सेना हो। माओवादी पार्टीको सेना होइन। भलै नाममा माओवादी सेना भनिएको छ, त्यसको मतलब पार्टीको सेना होइन। त्यो त माओवादी विचारले लैस भएको, त्यसको आधारमा गठित सेना हो। जव त्यसको रेखदेखको जिम्मा राज्यले लिइसकेपछि जुन दिनदेखि त्यो प्रक्रिया सुरू भयो, त्यतिवेलादेखि नै माओवादी सेना राज्यको सेना बनिसक्यो। र, बाकीं समायोजन र पुनर्स्थापनाको पाटो मात्र छ। कतिपयले समायोजनको शब्द झिकेर पुनर्स्थापनाको मात्र कुरा उठाउने गरेका छन्, त्यसले समस्या सिर्जना गरेको छ।

हाम्रो स्पष्ट भनाइ छ, समयोजन शान्तिसम्झौंताको मुख्य मर्म हो। भाषिक अर्थमा समयोजनको अर्थ जोड्ने हो। दुईटा सेना छन्, तिनलाई कतिमात्रामा जोड्ने भनेको हो। यो सिधा कुरालाई विर्सिएर समायोजनाको परिभाषा गर्दा व्यक्ति-व्यक्ति हिसाबले भर्ना गर्ने कुरा गरिराख्या छन्। त्यसले यो विषय अनावश्यक ढंगले गिजोलिएर आंशका बढ्दै गएको हो। त्यसैले समायोजन भन्ोकै सेनाको स्वीकारोक्ति र दुईटा सेनाको रुपमा जोडेर साझा सेना बनाउने भन्ने हो। दुनियाँ जहाँ पनि जुन मोडेल लागू भएका छन्, त्यहाँ फरकफरक अनुभव छन्। कुनै ठाउँमा दुईटा सेनालाई जोडेर एउटा सेना बनाइएको छ, भएका सबैलाई जोडिएको छ। मोजाम्बिकमा त्यस्तै गरियो। दक्षिण अफ्रिकामा तीन-चार थरी सेना थिए, तिनको साइज घटाएर समायोजन गरिएको छ। कुनै देशमा एउटाको संख्या आधा घटाउने र अरू विद्रोही सेना जोड्ने गरियाछ। समायोजन शब्दमा बुझाइको एकरूपता नहुनु दुर्भाग्य भएको छ। हाम्रो बौद्धिक सर्कलले पनि यसमा ध्यान नदिने, पार्टीगत ढंगले हेर्ने, यो माओवादीको मात्रै समस्या हो भन्ने ढंगले बुझ्ने कारणले पनि शान्तिप्रक्रिया अवरुद्ध भएको छ।

समायोजन कुन फर्मुलाका आधारमा जोड्ने छलफल र बहसको विषय हो। समायोजनबारे हाम्रो पार्टीको आधिकारिक लाईन तीन मोडलमा छ। पहिलो, हामीकहाँ विभिन्न सुरक्षा जनशक्ति चाहिएको छ, त्यसो हो भने जनमुक्ति सेना, जो १९ हजार छ सयको आसपास छ, त्यसको छुट्टै सुरक्षा बल बनाइदिए भयो। सीमा सुरक्षा बल वा कुनै नाम राखेर। हिजो हामीसँग सेना र प्रहरीमात्रै थियो, द्वन्द्वकालमा सशस्त्र प्रहरी बनायौं भने अहिले हामीसँग अरू पनि काम छ भने जनमुक्ति सेनाको छुट्टै फोर्स बनाए भो। त्यसो भइदियो भने झण्झट पनि हुँदैन। एक ठाउँमा मिसिएर अर्कोले के गर्छ भन्ने कुरा पनि हुँदैन। तालिम दिन पनि सजिलो हुन्छ। त्यसो गर्दा माओवादीप्रति लोयल भएको सेना अलग्गै बस्यो भने त्यसले केही गर्छ कि, उत्पात मच्चाउँछ कि भन्ने एकथरिको आंशका छ, हामीलाई त्यस्तो लाग्दैन। त्यो अनावश्यक ढंगले शंका गर्ने कुरा मात्रै हो। मानौं कि, १९ हजारले गढबढी गरेछ भने पनि अर्कोतिर हाम्रो सबै सुरक्षा शक्ति (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी) डेढ लाख बढी छ। त्यो डेढ लाखको अगाडि १९ हजारले के गर्न सक्छ र? हामीले त सजिलोको निम्ति एउटा छुट्टै फोर्स गठन गरौं भन्ने प्रस्ताव मात्र गरेका हौं।

होइन त्यसमा शंकै लाग्छ, एक्लै राख्दाखेरि त्यसले माओवादीप्रति नै बफादारी रहिराख्ने र भोलि गडबढी गर्ने हो कि भन्ने लाग्छ भने हामीले दोस्रो मोडल ल्याएका छौं-उत्तिकै संख्यामा जनमुक्ति सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका मान्छे मिसाएर छुट्टै एउटा बल बनाऔं न। यसमा सेनाका पूर्वरथी चित्रबहादुर गुरूङले यो मोडल सम्भव छ भन्ने कुरा राख्नुभएको छ, त्यो सकारात्मक कुरा हो। हामी त्यसको निम्ति पनि तयार नै छौं। त्यो पनि रहेन भने अहिले भइराखेकै सेना, प्रहरी र सशस्त्रमा उपयुक्त संख्यामा गर्दा हुन्छ भनेका छौं। यो तेस्रो मोडेल हो। यी तीनवटामा जुनसुकै मोडलमा हामी जान तयार छौ तर मुख्य कुरा समायोजन हुनुपर्‍यो।

हामीले १९ हजार ६ सय सबैलाई समायोजन गर्ने कहिलै भनेका छैनौं। एउटा उपयुक्त समायोजनको मापदण्ड बनाऔं। भर्नाको मापदण्ड होइन, समायोजनको अन्तर्राष्ट्रिय मापदण्ड। जो स्वेच्छिकरुपमा छोड्न चाहन्छन्, उनीहरूलाई विदा गरिदिऊँ। जो अशक्त छन्, उनीहरूलाई छुट्याई दिऊँ। र, बाकीँ रहेकाहरूलाई समायोजन गरौं। माथिका तीनटा मोडलमध्ये जुनसुकै मोडलमा समायोजन गर्न हामी तयार छौं। यसो हुँदाहुँदै केहीले माओवादीले सेना छोड्न चाहेन, आफ्ना बनाएर राख्न खोज्यो भन्ने जुन प्रचार गरिदैछ, त्यो सही होइन। कसैमा आंशका छ भने म स्पष्टरुपमा निवारण गर्न चाहन्छु, हामी १९ हजार जनमुक्ति सेनालाई लिएर डेढ लाखको सुरक्षाफौज हाम्रो भइसक्यो। नेपालको सबैभन्दा
ठूलो पार्टी भएर राज्यको मुख्य अंग भइसक्यौं। सरकारको नेतृत्व पनि गरिसक्यौं। यसर्थ सुरक्षाफौज हाम्रो विरोधी कसरी हुनसक्छ? त्यसलाई हामी किन आफ्नो विरोधमा पठाउन सक्छौं? त्यो हाम्रो हितमा छदैछैन। यस कार्यक्रममा यहाँ जर्नेल साहेबहरू हुनुहुन्छ, उहाँमार्फत् यो कुरा पुगोस्, हामी त्यति मुर्ख छैनौ। हाम्रो चाहना एउटै छ, तपाईहरूको मन कसरी जित्ने। विश्वास कसरी आर्जित गर्ने। यो सम्पूर्ण सुरक्षाशक्ति कसरी आफ्नो बनाउने भन्नेतिर त हाम्रो चिन्ता छ। १९ हजारको विश्वास आर्जित गर्ने र डेढ लाखलाई चिढ्याउने, त्योभन्दा ठूलो मुर्खता हाम्रो अरू के हुनसक्छ?

फेरि पनि विविध कारणवश जुन आंशका छन्, त्यसलाई अन्त्य गरौं। र, उपयुक्त एउटा विधि खोजेर समायोजनको दिशामा जाऔं। दुई वटै नेपालका सेना हुन्। नेपाली जनता र राज्यका सेना हुन्। तिनलाई उपयुक्त रुपमा समायोजन गरेर, राष्ट्रिय सुरक्षा नीति बनाएर अगाडि बढौं, त्यो नै अहिलेको समाधान हो। यो नै माओवादी पार्टीको प्रतिवद्धता हो। यसको विपरित कतिपय दलले माओवादीले हतियार नत्यागेसम्म, निशस्त्र नभएसम्म, सेना नछोडेसम्म सरकारको नेतृत्व गर्न दिदैनौं भन्छन्, त्यो शान्तिसम्झौताको मर्मअनुरुप छैन। यही कुरा उहाँहरूलाई साच्चै लाग्थ्यो भने यी मुद्दा संविधानसभा चुनावभन्दा पहिलै भन्नुपर्दथ्यो। हामीलाई अन्तरिम संविधानमा लानुभन्दा पहिलै हुनुपर्थ्यो। त्यो त उहाँहरूले भन्नुभएन। दुईटा क्याम्प रहेकै अवस्थामा हामी अन्तरिम सरकारमा गयौं, त्यही अन्तरगत चुनाव लड्यौं र सबभन्दा ठूलो पार्टीको रूपमा आयौं। नौ महिना सरकार चलायौं। त्यतिवेला माओवादी नागरिक पार्टी भयो तर अहिले आएर फेरि निहुँ खोज्ने काम भएको छ। संयुक्त सरकार बनाएर शान्ति र संविधान बनाउने वेलामा माओवादी नागरिक पार्टी भएन, माओवादीले सेना र हतियार छोड्नुपर्‍यो भनिदैछ, यो शान्ति भाड्ने प्रवृति मात्रै हो। त्यसको विरोध गरिनुपर्छ। माओवादी कुनै पनि ढंगले छुट्टै जनमुक्ति सेनालाई कायम राख्ने पक्षमा छैन। सम्पूर्ण सुरक्षा संयन्त्र नै आफ्नो ठान्छ। त्यसैले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र जनमुक्ति सेना सबै नेपाल राज्यका सुरक्षा अंगहरू हुन्। यिनीहरूलाई मिलाएर नयाँ नेपालको सुरक्षा शक्ति निर्माण गर्नुपर्छ भन्ने मान्यता हामीले राख्छौं। यसमा कुनै पनि प्रकारको द्विविधा रहन आवश्यक छैन।
त्यसैले हिजोका तिक्ततालाई लिएर जनमुक्ति सेना र नेपाली सेनाले एकअर्का विरोध ठान्नुहुँदैन भन्ने हाम्रो मान्यता छ। दुबै नेपाली राज्यका सेना हौं, राज्यका सुरक्षा अंग हौं। त्यही ढंगको सबैमा एकरुपमा बुझाइ होस् भन्ने मेरो आग्रह छ।
(भट्टराईले बुधबार राजधानीमा आयोजित रातो भिल्को र आजको मार्क्सवाद र साम्राज्यवाद किताबको विमोचन कार्यक्रममा राखेको मन्तब्यको सम्पादित अंश)

Wednesday, November 17, 2010

माओवादी विस्तारित बैठक र नागरिक अपेक्षा



श्याम श्रेष्ठ

जनताको जति ज्यादा जनसमर्थनसहित पार्टी जति ठूलो भयो उसप्रति जनताको अपेक्षा पनि उति नै धेरै हुन्छ । यो अपेक्षा पूरा गर्नसकेमा पार्टीको वैधता र जनाधार पनि त्यति नै मजबुत भएर जान्छ । जनताको अपेक्षा पूर्वतिर, पार्टीका क्रियाकलाप पश्चिमतिर फर्केमा पार्टी एक समयमा जति नै ठूलो भए पनि अर्को समयमा त्यो त्यति नै खुम्चिएर जान्छ । गोर्खाको पालुङटारमा विस्तारिक बैठक गरिरहँदा यो चुनौतीको घेरोमा अहिले एकीकृत नेकपा माओवादी पार्टी उभिएको छ । यो विस्तारित बैठकमा उसले कति तथ्यपूर्ण ढंगले आत्मालोचक भएर विगतका सही काम र गल्तीकमजोरीको समीक्षा गर्छ, त्यसैमा माओवादी पार्टी र राष्ट्रको भविष्यसमेत निर्धारित हुनेछ । कुनै पनि पार्टीको महानता आफ्ना गल्तीकमजोरी छोपछाप गर्न ऊ कति खप्पिस भयो भन्नेमा हुँदैन, आफ्ना गल्तीकमजोरी उसले कति इमानदार र पारदर्शी ढंगले स्विकार्‍यो भन्नेमा हुन्छ ।
माओवादी पार्टीप्रति जनसमर्थन सबैभन्दा ठूलो छ, त्यसैले उसप्रति जनअपेक्षा पनि सबैभन्दा ठूलो छ । यो देशमा अहिले संविधानसभा, गणतन्त्र, धर्मनिरेपेक्षता, महिला पुरुष समानता, समतामूलक समावेशी राज्य, राज्यको लोककल्याणकारी चरित्र, संघीयता, सामाजिक न्याय र सामाजिक सुरक्षालगायत जेजति अग्रगामी परिवर्तनका एजेन्डा कार्यान्वयन प्रक्रियामा छन् त्यसमा माओवादीको निणार्यक नेतृत्वदायी भूमिका रहेको छ । माओवादीको सशस्त्र द्वन्द्व नभएको भए यी आमूल परिवर्तकारी एजेन्डा यति सजिलै र यति छिट्टै नेपाली समाजमा सर्वस्वीकार्य हुन सक्ने थिएनन् । परन्तु यसको विपरीत पाटो पनि छ । अहिले यी एजेन्डा जुन ढंगले र जुन मात्रामा संकटमा परेका छन् त्यसमा अरू दलको साथसाथै माओवादी नेतृत्वको पनि अहं भूमिका रहेको छ । गहिरोमा मसिनोसित केलाउने हो भने माओवादी नेतृत्व संविधानसभाको चुनाव र यसको पहिलो बैठकसम्म परिवर्तनकामी र प्रगतिशील एजेन्डा धेरैलाई स्विकार्न सक्ने बनाउन र यसलाई व्यवहारमै कार्यान्वयन गर्न/गराउन निकै सफल देखिन्छ तर त्यसयता विशेषतः संविधानसभामा पहिलो ठूलो दल भएर निक्लेपछि र शासनसत्तामा आएपछि, यी सबै मामलामा सरकार, सडक र सदनमा ऊ नितान्त विफल देखिएको छ । कुनकुन त्रुटिकमजोरीका कारणले यस्तो भयो ? के यो कुराको गहन आत्मसमीक्षा माओवादीको विस्तारित बैठकले गर्ला ?
माओवादी सरकारमा गएपछि धेरै ठूलो परिवर्तन घटित हुनेछ भन्ने जनअपेक्षा थियो । यो अपेक्षा गलत र निराधार पनि थिएन किनकि त्यति ठूलो क्रान्तिकारी परिवर्तनको नारा दिएर, ठूलै बलिदान गरेर सरकारमा आएको पार्टी थियो माओवादी तर अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी नेतृत्वको नौमहिने सरकारले न त कुनै महत्त्वपूर्ण आर्थिक सामाजिक परिवर्तनको शंखघोष गर्न सक्यो, न राज्ययन्त्रमा परिवर्तनको, न संविधान निर्माणलाई नै पहिलो प्राथमिकतामा राख्न सक्यो । विस्तृत शान्तिसम्झौतामा साझा सहमति बनिसकेका सामन्तवादका सबै अवशेषको उन्मूलनलगायतका कामसमेत उसले थाल्न सकेन । राजस्व संकलनमा ऐतिहासिक रेकर्ड बनाएको बाबुराम भट्टराईको गाउँ र गरिबमुखी बजेटबाहेक सरकारले गरेका उल्लेखनीय ऐतिहासिक काम भनेर एक हातमा गन्न सकिने गौरवयोग्य कामको सूचीसमेत प्रचण्ड नेतृत्वको सरकारको कार्यकालमा बन्न सक्ने स्थिति देखिँदैन ।
प्रभानमन्त्री प्रचण्डले जनआन्दोलन दमनका एकजना प्रमुख पात्र कटवाललाई कारबाही गर्नु गलत कुरो थिएन तर यो कारबाही सरकारमा आउनासाथ रायमाझी आयोग प्रतिवेदनको कार्यान्वयनको रूपमा गर्नुपथ्र्यो । यस्तो गरेको भए यसलाई उल्ट्याउन धेरै गाह्रो हुने थियो र यसमा व्यापक जनसमर्थनसमेत प्राप्त हुन सम्भव थियो तर कारबाहीका लागि एकपछि अर्को समय भड्काउँदै नयाँ बजेट पेश हुन एक महिना पनि बाँकी नरहेको समयमा प्रमको चीन भ्रमणको मुखैमा र कटवाल सेवानिवृत्त हुन तीन महीना मात्र बाँकी हुँदा गरेको कुटाइमको कारबाहीले तत्कालीन माओवादी नेतृत्वको सरकार र भविष्यमा त्यस्तो सरकारको सम्भावना मात्र समाप्त पारेन, नेपालमा शान्ति प्रक्रिया र संविधानसभाको काम नै धेरै ओझेलमा पार्‍यो । के त्यो कारबाही सामयिक र उचित थियो ? यो कुराको गहन आत्मसमीक्षा पालुङटार बैठकले गर्ने जनअपेक्षा छ ।
सशस्त्र द्वन्द्वको सञ्चालनमा र त्यसपछिको शान्ति प्रक्रियामा अध्यक्ष प्रचण्ड निकै सफल र व्यवहारकुशल नेताका रूपमा देखिन्छन् । नेतृत्वमा उनी नभएको भए नेपालको शान्ति प्रक्रिया यति सहज, छोटो र सहमतिमुखी हुन सम्भव थिएन तर सरकार प्रमुखका रूपमा भने उनी आफ्नो लक्ष्य र प्राथमिकता के हो भन्ने कुरामा समेत स्पष्टता नभएका अत्यन्त विफल प्रधानमन्त्रीका रूपमा देखिन्छन् । तुलना गरी हेर्नका लागि बीपी नेतृत्वको सरकारको पहिलो एक वर्ष र एमाले नेतृत्वको नौमहिने सरकारको काम तुलना गरी हेरे काफी हुनेछ । आखिर ती दुवै अनुभवविहीन र छोटो समयका सरकार थिए । के यी कुराको वस्तुपरक आत्मसमीक्षा अध्यक्ष प्रचण्डले पेश गर्ने प्रतिवेदनले गर्न सक्ला ?
खालि विगतका गल्तीको समीक्षाले मात्र देश अत्यन्त संकटग्रस्त भइरहेको अहिलेको समयमा राष्ट्रलाई दिशानिर्देश गर्न सम्भव हुँदैन । यतिखेर आम नागरिकले के अपेक्षा गरेका छन् भने माओवादीको विस्तारित बैठकले अहिलेको गम्भीर राजनीतिक संकटको सही निकास पनि सबैभन्दा ठूलो दलका हैसियतले पहिल्याओस् । केवल सत्ताको छिनाझप्टीमा केन्दि्रत भएर थपिएको संविधानसभाको बाँकी आधा वर्षको समय व्यर्थमा खत्तम हुने खण्ड अबउप्रान्त नआओस् । नियन्त्रणबाहिरका कतिपय कारणले सत्ताको नेतृत्व प्राप्त हुन नसकेको खण्डमा पनि अबको बाँकी समय सम्पूर्ण रूपमा प्रगतिशील अन्तरवस्तु भएको अग्रगामी संविधान निर्माण गर्नमा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनमा केन्दि्रत गर्ने लाइन माओवादीको विस्तारित बैठकले पारित गर्न सक्यो भने त्यो नै यो विस्तारित बैठकको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
नेपालमा अहिलेसम्म जनआन्दोलन, अन्तरिम संविधान र शान्ति सम्झौताहरूमार्फत् जेजति राजनीतिक परिवर्तन भएका छन् त्यसलाई माओवादीले मूलतः आफ्नै वैचारिक नेतृत्वमा अरूसित मिलेर भएको राजनीतिक क्रान्तिका रूपमा लिनसकेको छैन । यो क्रान्तिको स्वामित्वबोध माओवादी नेताकार्यकर्तामा हुनसकेको देखिन्न । जनआन्दोलनमा आएर र शान्ति प्रक्रियामा सामेल भएर फसियो भन्ने दृष्टिकोण एकथरी माओवादी अगुवाहरूमा टन्न हावी भएको देखिन्छ । यही कारणले नै उसले बारम्बार तत्काल जनविद्रोहको आवश्यकताको कुरो उठाइरहेको छ । यो यान्त्रिक सोचमाथि माओवादीको विस्तारित बैठकले पुनर्विचार गर्नु जरुरी छ ।
आफूले हरसम्भव प्रयास गर्दागर्दै वर्तमान राजनीतिक क्रान्ति विफल भयो र फेरि प्रतिगमन हावी भयो भने अर्को जनक्रान्ति वा जनविद्रोह गर्नुपर्ने हुन सक्छ । त्यसका लागि धेरै परिवर्तनकामी नेपाली तयार हुन सक्छन् तर अहिलेको सबै युगान्तकारी उपलब्धिलाई आफैंले न्यून मूल्यांकन गर्दै बेवारिस छोडेर अर्को जनविद्रोहमा कुद्ने कुरो गर्नु हातमा परिसकेका चारवटा छोडेर रूखमा बसेका आठवटा चराको पछि कुद्नु बरोबर हो । यसो गर्दा हातका चरा पनि उड्न सक्छन्, रूखका चरा पनि कहिल्यै हात नपर्न सक्छन् । संविधानसभामार्फत् प्रगतिशील अन्तरवस्तु भएको नयाँ अग्रगामी संविधान लेख्न सफलता प्राप्त गर्नु नै अहिलेको परिस्थितिमा नेपालमा जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्नु हो । यो विदेशी प्रतिक्रियावादीलाई परास्त गर्नु पनि हो । के यो सोचलाई पालुङटार बैठकले स्थापित गर्न सक्ला ?
नेपालमा अग्रगामी परिवर्तन खोज्ने जनसमुदाय, वर्ग र तप्का धेरै ठूलो छ । तथापि यतिखेर परिवर्तन रोक्न खोज्ने एउटा सानो सम्भ्रान्त वर्गको घेरो यत्रतत्र हावी भइरहेको छ । यसले दलदलका बीचमा पनि फाटो ल्याउन खोज्दै छ, दलभित्र पनि फाटो ल्याउन खोज्दै छ । सबै दलका टाउकाटाउकामा यसले गुँड लाउन खोज्दै छ । आखिर सानो समूह भएर पनि परिवर्तनविरोधी किन सफल भइरहेको छ ? परिवर्तनकामीहरूको ठूलो समुदाय किन एकताबद्ध र मोर्चाबद्ध हुन सकिरहेको छैन ? यसमा माओवादीको कुन भूल र त्रुटिले भूमिका खेलेको छ ? यो अहं सवालमा पनि विस्तारित बैठकको ध्यान जानु आवश्यक छ । माओवादीको विस्तारित बैठकले परिवर्तनकामी सबै पक्षको मोर्चाबद्ध एकताको निर्माणका लागि प्रयास गर्ने बाटो अख्तियार गर्न सक्यो भने यो ठूलो उपलब्धि हुनेछ । अबउप्रान्त माओवादी नेताले जथाभावी मुख नचलाउने, कार्यकर्ताले जथाभावी हात नचलाउने र चलाउनेलाई कडाइपूर्वक दण्डित गर्ने निधो विस्तारित बैठकले गर्नसकेमा त्यसले परिवर्तनकामीहरूको ऐक्यबद्धता निर्माण गर्नमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ ।
सर्वसाधारण नागरिकले के पनि आशा गरेका छन् भने अत्यन्त शक्तिशाली माओवादी पार्टीले सरकारको नेतृत्व प्राप्त गर्ने विषयमा मात्र बोल्ने, सडकमा पनि उत्रने तर आम नागरिकको दैनिक जीवन गुजारा नै दुर्दशाग्रस्त हुने गरी महँगी बढ्दा, असुरक्षा बढ्दा, ढिलासुस्ती तथा भ्रष्टाचार अचाक्ली बढ्दा चुँ नबोल्ने स्थिति अब यो विस्तारित बैठकपछि समाप्त हुनुपर्छ । जनताका हरेक पीरमर्कामा बोल्ने र संघर्ष गर्ने दलका रूपमा माओवादी दल आउन सक्दा नै उसलाई जनताले आफ्नो जीवनसित जोडिएको दल ठान्ने हो तर माओवादी केवल कुर्सीका लागि मात्र बोल्छ, अरू कुनै जनसमस्यामा बोल्दैन भन्ने सन्देश अहिले यत्रतत्र प्रवाहित भइरहेको छ । यो स्थिति अन्त गरेर माओवादीले जनताको मन जित्ने जनसमस्याका काममा हात हाल्न थाल्नु नितान्त आवश्यक छ

Tuesday, November 16, 2010

'राष्ट्रियतामाथि हस्तक्षेपको ग्राइन्ड डिजाइन भइरहेको छ'




सरोजराज अधिकारी

तपाइर्हरूले भारतीय माओवादीलाई प्रशिक्षण दिएको लस्कर-ए-तोएवासँग सम्बन्ध राखेको भनी भारतीय पक्षबाट गरिएको दाबीका सम्बन्धमा के भन्नुहुन्छ ?
भारतीय पक्षको आरोप पूर्ण रूपमा झूटो, नियोजित र कपोलकल्पित कुरा हो । म पार्टीको तर्फबाट यसप्रति खेद व्यक्त गर्दै भारत सरकारलाई यसको पुष्टि गर्न चुनौती दिन्छु साथै नेपाल सरकारले यस विषयमा तत्काल छानबिन गरी तथ्य सार्वजनिक गरोस् भन्ने माग गर्छु ।
यतिबेला यस्तो कुरा किन आएको होला ?
यो संविधानसभाको म्याद सकिने बेलातिर तयार पारिएको प्रतिवेदन हो भन्ने हामीलाई जानकारी छ । त्यतिखेर भारत र एकथरी नेपालका शक्तिहरू संविधानसभाको म्याद नथप्ने पक्षमा थिए । अर्को, नेपालका लागि राष्ट्रसंघीय मिसन -अनमिन) लाई जसरी पनि फिर्ता पठाउनुपर्छ भन्ने प्रवृत्ति थियो । भारत पनि त्यही चाहन्थ्यो । खासमा त्यो प्रतिवेदन त्यसैको वातावरण तयार पार्न बनाइएको हो । अहिले चाहिँ राजनीतिक दलबीच बन्न लागेको सहमति बिथोल्न ल्याइएको हुन सक्छ । भारत नेपालमा दीर्घकालीन शान्ति र संविधानको विपक्षमा छ । भारत नेपालको संविधानसभाले संविधान बनाओस् भन्ने पक्षमा छैन । त्यसैले यस किसिमका नियोजित प्रतिवेदन तयार पारे कुनै पनि बेला नेपालमा ठाडो हस्तक्षेप गर्ने आधार बन्छ भन्ने भारतीय सोच छ साथै हामी विस्तारित बैठक गर्दै छौं, त्यसलाई अस्वस्थ बनाउने उद्देश्य पनि देखिन्छ ।
तपाईंले सो प्रतिवेदन प्रधानमन्त्रीको निर्देशनमा
नेपाली सेनाले तयार पारेर भारतलाई बुझाएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो, त्यसको आधार के हो ?
प्रधानमन्त्रीले छानबिन गर्छु भनेर वचन दिनुभएको छ । त्यसैले अहिले सरकार वा प्रधानमन्त्रीलाई आरोपित गर्न चाहन्नँ । मैले बोल्दा पनि सेनालाई संस्थागत रूपमा आरोपित गर्न खोजेको होइन । मलाई प्राप्त सूचनाका आधारमा सेनाभित्रका केही व्यक्ति र प्रवृत्तिले त्यस्तो गरेका छन्, भन्न खोजेको हो । मुख्य कुरा के हो भने माओवादीलाई शान्ति र संविधानबाट अलग गराउन, घुँडा टेकाउन, आफूले चाहेअनुसार हिँडाउन वा दमन गर्न भारतले यो काम गरेको हो । शान्ति प्रक्रिया, संविधान निर्माण भाँड्नु र कुनै पनि बेला हस्तक्षेपका लागि आधार बनाउनु उसको प्रमुख उद्देश्य हो ।
जुन प्रधानमन्त्रीको निर्देशनमा प्रतिवेदन तयार पारिएको दाबी गर्नुभएको छ, उनैबाट स्वतन्त्र छानबिनको अपेक्षा कसरी गर्नुहुन्छ ?
प्रधानमन्त्रीले मेरो कुनै संलग्नता छैन, छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउँछु भन्नुभएकाले हामीले सकारात्मक रूपले हेरेका छौं ।
सेनाभित्रको केही तत्त्व भन्नुभयो, अलिकति खुलस्त पारिदिनुस् न ?
सरकारले छानबिन गर्छु भनेकाले अहिले त्यस विषयमा नजाउ“, नेपालमा कोको थिए भनेर सरकारले नै अनुसन्धान गरोस् ।
तर तपाईंकै अध्यक्षले सेनाले त्यस्तो काम गर्दैन भनिसक्नुभयो नि ?
अध्यक्षले पनि त्यसरी भन्नुभएको होइन । हामीले सेना सिंगो संस्थालाई आरोपित गर्न चाहेका छैनौं, कोही व्यक्ति विशेष त्यसमा सहभागी हुन सक्ला भन्ने उहाँको आशय हो । भारत आफैंले शिविर, शिविर पुगेर प्रतिवेदन तयार पारेको होइन होला । उसले ककसलाई लगायो त्यसको छानबिन हुनुपर्छ भन्ने हो ।
यो प्रकरणमा तपाईंलाई नै मुख्य दोषीका रूपमा चित्रित गर्नुको कारण के होला ?
त्यो त आरोपित गर्ने मानिसले नै जानेको होला । भारतको जहिले पनि दोहोरो मापदण्ड हुन्छ । उसले भनेअनुसार गर्‍यो भने खुसी हुन्छ । राष्ट्रियता, स्वाधीनता, नेपाली जनताका पक्षमा कुनै पार्टीले, व्यक्तिले आफ्नो निर्णय गर्‍यो, अडान राख्यो भने त्यो पार्टी र त्यस्ता व्यक्तिलाई बदनाम गर्न
खोज्छ । पछिल्लो समय हाम्रो अध्यक्षले भारतीय हस्तक्षेपका विरुद्ध अडान लिँदै आउनुभएको छ, हामीले त्यसलाई समर्थन गरेका छां त्यसैले आरोप लगाइएको हुन सक्छ ।
अध्यक्षलाई नै आरोपित नगरेर तपाईंलाई किन त ?
एक हिसाबले पार्टी स्थायी समिति सदस्य,
सैन्य इन्चार्ज, अध्यक्षलाई काँध थाप्ने नेतालाई आरोप लगाउनु भनेको सोझै अध्यक्षलाई
आरोपित गरेको हो । सिधै अध्यक्षलाई आरोपित गर्दा मान्छेले विश्वास गर्दैनन्, अप्ठ्यारो पर्न सक्छ । तालिम कसले गरायो भन्दा त सैन्य इन्चार्जले गरायो भन्न सजिलो भयो । त्यसैले मलाई आरोप लगाउनु उचित ठान्यो ।
तपाईंको नेतृत्वमा हालै लडाकुको चीन भ्रमण भएकाले पनि आरोपित गरिएको हो कि ?
भारतले तत्काल प्रतिशोधको राजनीति गर्छ । भारत निकै ठूलो देश हो, शक्ति राष्ट्र पनि भएको
छ । उसले अलि दीर्घकालीन, परिपक्व कूटनीति, राजनीति गरे हुन्थ्यो । आफूलाई महाशक्ति ठान्ने भारतले यस किसिमको केटाकेटी, हचुवा काम गरेर उसैलाई घाटा हुन्छ । यसरी बदनाम गर्नु विचार, संस्कृति, राष्ट्रको नीतिको निम्छरोपन हो ।
विस्तारित बैठक हुन लागेको अवस्थामा पार्टीभित्रैबाट कसैले खेलेझैं लाग्दैन ?
विचारमा राजनीतिक विषयमा छलफल, बहस, अन्तरविरोध हुन सक्छ तर यस्तो घटिया कुरा हाम्रो पार्टीमा हुँदैन ।
हिजो तपाइर् उपाध्यक्ष बाबुराम भट्टराई निकट हुनुहुन्थ्यो र बाबुरामजीलाई तपाईंकै पार्टी भित्रैबाट भारतनिकट नेताका रूपमा चित्रित गरिएको थियो । उहाँलाई छाड्नासाथ तपाईंमाथि यत्रो ठूलो आरोप लाग्नुमा कुनै सामञ्जस्य देख्नुहुन्छ ?
हिजो बाबुरामजी र अध्यक्ष एकै ठाउँमा हुनुहुन्थ्यो । त्यसैले अध्यक्ष, म र बाबुरामजी एकै ठाउँमा थियौं । त्यतिखेर म अध्यक्ष र बाबुरामजी दुवैको मान्छे थिएँ । पछि अध्यक्ष र बाबुरामजीबीच केही राजनीतिक अन्तरविरोध भयो र बाबुरामजीले अध्यक्षलाई छाड्नुभयो । म त अध्यक्षसँगै थिएँ, अध्यक्षसँगै रहें । फेरि बाबुरामजी भारतपरस्त भएर फरक मत ल्याएको भन्ने मलाई लाग्दैन । क्रान्ति, परिवर्तनबारे उहाँका आफ्ना विश्वास छन्, त्यसैलाई राख्नुभएको हो । मेरा आफ्ना विश्वास छन् जुन अध्यक्षसँग मिल्छन्, त्यसैले म उहासँग छु ।
आरोपित गरिएका अधिकांश नाम अध्यक्ष दाहालनिकटका छन्, यसबाट विस्तारित बैठकलाई प्रभावित पार्न खोजेजस्तो लाग्दैन ?
हो, भारतले हाम्रो पार्टीभित्र खेल्न खोजेको छ । उसले अन्तरविरोध चर्काएर पार्टी फुटाउन सकिन्छ कि भन्ने सोचेको हुन सक्छ । यसबाट हाम्रा कुनै नेता, कार्यकर्ता प्रभावित हुनु हँदैन र अरू कोही हौसिनु पनि जरुरी छैन ।
आजको मितिमा भारतीय माओवादीसँग तपाइर्ंहरूको कुनै सम्बन्ध छैन त ?
हाम्रो वैचारिक निकटता छ । हामी समान विचारधारा, दर्शन मान्छौं । यसमा लुकाउनुपर्ने कुरै छैन । युद्धकालमा हामी सम्पर्कमा थियौ । हाम्रा केही कमान्डरहरूले उहाँहरूको तालिम, अनुभव लिनुभएको थियो । हामी शान्ति प्रक्रियामा आइसकेपछि भने वैचारिक, राजनीतिक निकटताबाहेक अरू कुनै सम्बन्ध छैन ।
हिजो तपाईंका कमान्डरले तालिम लिएजस्तै अहिले उनीहरूले तालिम, प्रशिक्षणमा सहयोग माग्दा नकार्न सक्ने अवस्था रहन्छ र ?
प्राविधिक रुपले तर्क गर्दा पनि हिजो हामीलाई सिकाउनेहरू हामीभन्दा पछि होलान् कि अघि ? पक्कै पनि अगाडि छन् । हामीले सिकाउनै पर्दा पनि के सिकाउने ? यो व्यावहारिक रूपले नमिल्ने कुरा हो । भारतीय माओवादी विश्वको ठूलो सैन्य शक्ति भएकामध्ये एक भारतसँग लडिरहेको छ । भारत सरकारकै तथ्यांकअनुसार एक सय २० वटा जिल्लामा उसले आफ्नो प्रभाव सघन रूपमा विस्तार गरिसकेको छ । एक सय २० जिल्ला भनेको सिंगो नेपालको क्षेत्रफलभन्दा ठूलो क्षेत्र हो । आन्तरिक मामिलामा सबैभन्दा ठूलो समस्या माओवादी भएको भारतीय प्रधानमन्त्रीले नै स्विकारिसक्नुभएको छ । त्यति ठूलो समस्या सिर्जना हुने गरी लड्न सक्नेलाई हामीले तालिम दिने कुरा सुन्दा भारतीय माओवादीबारे सामान्य ज्ञान राख्ने मान्छे पनि हाँस्छ ।
युद्धकालमा त तपाईंहरूबीच कार्यगत एकता नै थियो नि, होइन ?
युद्धकालमा हामीले सि-कम्पोसा बनाएर दक्षिण एसियाली क्रान्तिकारी संगठनहरूलाई समन्वय गर्ने प्रयत्न गरेकै हो । त्यसो गर्दा पनि हामीले विचारको राजनीतिमै जोड दिएका थियांै तर क्रान्ति आयात र निर्यात गर्ने विषय होइन । हाम्रै छिमेकी चीनमा कम्युनिस्ट व्यवस्था हुँदा नेपालमा किन भएन ? यसबाट पनि के बुझ्नुपर्छ भने क्रान्ति सम्बन्धित देशको परिस्थितिमा हुने परिवर्तन हो । कसैले आयात वा निर्यात गर्ने विषय होइन ।
लस्कर-ए-तोइबासँग पनि तपाईंहरूलाई जोडिएको छ, उसँग चाहिँ कस्तो सम्बन्ध हो ?
म त हालै त्यसको नाम सुन्दै छु । यो कहाँको हो, केहो भन्नेबारे मलाई ज्ञान थिएन । अहिले
हामीलाई जोडेर आरोपित गरिएपछि मात्रै मैले इन्टरनेटमा के रहेछ भनेर खोज्दा नेपालमा विमान अपहरणमा जोडिएको, पाकिस्तानमा आधार भएको र कश्मिरमा गतिविधि गरिरहेको संगठन रहेछ भन्ने थाहा पाएको हुँ ।
तपाईंकै अध्यक्षले केही वर्षअघि आईएसआईले सहयोगको प्रस्ताव गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो, तोएवासँग पनि त्यस्तो केही थियो कि ?
छैन । चिन्दै नचिनेको, नामसम्म नसुनेको संगठनसंग कसरी साइनो, सम्बन्ध हुन्छ ? त्यससँग न हाम्रो राजनीति, न दर्शन, न छेउछाउ कतै भूगोल मिल्छ । त्यस्तासँग जोडेर जसरी आरोपित गरिएको छ, यसले पनि के देखाउँछ भने षड्यन्त्रपूर्ण ढंगले नेपाली राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गर्ने 'ग्राइन्ड डिजाइन' भइरहेको छ ।
यस विषयमा सरकारी पक्ष उदासीन प्रायः देखिएको छ, किन होला ?
यो सरकारमाथिकै आरोप हो भन्ने नबुझेजस्तो लाग्छ । आरोपअनुसार त त्यो आतंककारी भनेको संगठन, भारतले प्रतिबन्धित गरेका माओवादी नेपालमा आउने रहेछन्, यहाँ बस्ने रहेछन् । सरकार, सुरक्षा निकायले के हेरेर बसेको छ ? अर्को यो अन्तर्राष्ट्रिय साझा संस्था संयुक्त राष्ट्रसंघको इकाइ अनमिनमाथिको आरोप पनि हो । शिविरमा तालिम हुँदा त्यसले के हेरेर बस्यो ? यसरी उसलाई पनि चुनौती दिन खोजिएको हो ।
त्यसैले हामीलाई भन्दा पनि सरकार र अनमिनलाई चुनौती हो । अस्ति हाम्रा तीनजना कमान्डर चीन भ्रमण जाँदा सरकारले हतारहतार पत्र लेख्यो, स्पष्टीकरण सोध्यो । अहिले यति ठूलो आरोप आएको छ, सरकारले एकपटक पनि हामीलाई औपचारिक रूपमा सोधेको छैन । यसबाट पनि दालमा केही कालो छ भन्ने देखिन्छ । माउ खाने चितुवाले बाच्छो पनि छाड्दैन भन्ने कुरा सरकार र अन्य दलले बुझ्नुपर्छ ।
अहिले माओवादीमाथि आरोप लाग्यो भनेर सरकार वा कोही खुसी भएका होलान्, भोलि उनीहरूलाई पनि खान्छ । त्यसैले क्षणिक रूपमा खुसी हुनेभन्दा यसलाई राष्ट्रियता, स्वाधीनतामाथिको हस्तक्षेप मानेर सरकारले, राजनीतिक पार्टीहरूले डटेर विरोध गर्नुपर्छ ।

Sunday, November 14, 2010

महागुरू फाल्गुनन्दको स्मृति




चन्द्रकुमार सेर्मा लिम्बू
जगनबाज लिङदेन लिम्बू र माता हंसमती बेघाको साइँला छोराको रूपमा विसं १९४२ कात्तिक २५ आइतबार माङधक कुधक ईश्वरीय दूतको जन्म अवतरण भयो । जन्मको केही दिनमै आमा परलोक भएका टुहुराको ज्योतिषनाम नरधोज थियो ।
तागेरा निङवाभुमाङसँग साक्षात्कार हुने दैवसंयोगवश बिमारी अवस्थाको बालक मध्यरातमा वनजंगलतर्फ दिव्यपुरुषसँग अदृश्य भई देवमाई र माईको दोभान इलामको जीतपुर-८ खत्रक्पा फुलुङगीमा ईश्वरीय दर्शनलाई आत्मसाक्षात्कार ज्ञानबोध प्राप्त गरी सिद्ध हुनुभएका परमज्ञानी बालकलाई दीर्घायुको सूचक फलामको चुरो रक्षाबन्धन लगाइदिएकाले फलामे, फलामसिंबाट पछि फाल्गुनन्द विख्यात हुनुभयो ।
कुरीति, कुथिति, कुसंस्कारमा डुबेर बसेका किरातहरूको मुक्तिका लागि जन्म अवतरण हुनुभएका सत्यका राजालाई सत्यहाङमा र अनुयायीहरूलाई सत्यहाङमा भन्न थालियो । जाँड, रक्सी, मद, मंस सेवन गरी आहार, विहार, विचार र व्यवहार शुद्ध नभएका अज्ञानी, अचेत, अमुक्ति समाजलाई मुक्ति दिनु माङधक कुधकले कोदालो, हन्डी, सिलबरे थाल, कराही, दुई माना पीठो र चार झुत्ता मकै तथा लेछेबुङ बारी जग्गा अंश भाग लिई छुट्टँिदा साह्रै ठूलो कष्ट भोग्नुपर्‍यो । बनीबुतो गरी ल्याएको चल्ला बढेर धेरै कुखुरा दार्जिलिङ बेच्न जानु, त्यताको त्यतै नाथुङधावामा कुल्ली जानु, पल्टनियाँ दाजु भेट्न जाँदा पल्टनमै भर्ना हुनु, लडाइँमा पर्नु, दुस्मनलाई गोली नहान्ने आदेश गर्नु उहाँका जीवनविपरीतका दुःख हुन् ।
पाँचथर लोब्रेमा विसं १९८८-१-२४ गते १७ थुम १० लिम्बुवानको विराट चुम्लुङ गराई ७ बुँदे सत्य धर्म मुचुल्का कागज गराई मातृभाषा पढ्ने स्कुल, माङसेवा गर्ने मन्दिर, सुतक, विवाह, मृतक, संस्कार, छोराछोरी समान अंश, वंश, सुनौली रूपौली लिई छोरीचेली बेची खाने कुलत प्रथा बन्द, रक्तबलि निषेध, खाँडी कपडा उत्पादन गरेका जस्ता सनाद लेखन, सत्य वाचाका ऐतिहासिक दस्तावेजहरू जीवन्त छन् ।
सुन, चाँदी, तिल, जौ, कुस, दुबो र ढुंगो यी ७ तत्त्वबाट मुन्धुम वाचन गरी सम्पूर्ण मानव मुक्ति हुन्छ भनी ४६ विधा धर्मशास्त्र संहिताकृत गरी, भाषा, लिपि, संस्कार, इतिहास र धर्म यी ५ आधारभूत पहिचान निर्माण गर्ने फाल्गुनन्द कालान्तरमा महागुरु उपाधिले विभूषित हुनुभयो । लोब्रे १७ थुम, आठ जिल्ला, सिलौटी, काबेली, चुक्चिनाम्बा, जीतपुर र निगुरादेनसहित ७ ठाउँमा मन्दिर र कुम्भकर्ण धर्मशाला स्थापना गरी पल्लो किरात क्षेत्रबाट सत्यको ज्योति चन्द्रसूर्यझैं चम्किलो सर्वयुगीन, सर्वकालीन चम्किरहने सत्य युगको उद्घोष गर्नुभयो । सिलौटी कुटीमा विश्वशान्ति र मानव एकताको प्रतीक त्रिशूल रोपी ईश्वर अवतरणको अनुभूत दिनुभएको 'जरा' अद्यावधि छँदै छ ।
मनुष्य मुक्ति ज्ञानले मात्र हुन्छ, संसार संयोग र वियोगको दोसाँध हो, सम्पूर्ण मानव देवपुत्रपुत्री, राजपुत्रपुत्री हुन्, देवकर्मले देव, राजकर्मले राजा, सानो विचारले नोकर, पापकर्मले नाश होइन्छ आदि उपदेशका प्रणेताले आत्मा, परमात्मा, अनात्मावादलाई सम्पूर्णवाद मुन्धुममा पाइने भएकाले वेदको फेद मुन्धुम हो, मुन्धुममा मानवतावादी ज्ञानवाद पाइन्छ भनी विश्वको समन्वयवादी दर्शन दिनुभयो ।
सम्पूर्ण जीवप्राणी, वनस्पति, व्रह्माण्ड ईश्वरकै सृष्टि हुन्, नयाँ सृष्टि केही छैन भन्ने महाज्ञानका दर्शनदाताको चित्राङ्कित हुलाक टिकट-२०५०, नेपाली पाठ्यपुस्तकमा संक्षिप्त जीवनी, फाल्गुनन्द मार्ग २०५७ र २०६६-८-१६ गते राष्ट्रिय विभूति घोषणा गरी राज्यले सम्मान दिएको छ । फाल्गुनन्द प्रतिपादित किरात धर्मले २०५८ सालको राष्ट्रिय जनगणनामा ८, १८, १०६ संख्याले उल्लेख गरी राज्यको चौथो स्तरमा स्थापित किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन २०५७ मा पाँच मुलुकका धार्मिक सहभागिताबाट सम्पन्न भएको थियो ।
२/२ पटक राजद्रोह भोग्नुपरेका उहाँ जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुलुङगी, कर्मभूमि लोब्रे सिलौटी, तीर्थभूमि कुम्भकर्ण यी चार अमरधाम स्थापना गर्दै बद्री, केदार, परशुराम, हरिकाद्वार चारधाम तीर्थ भ्रमण गरी पुनः चाँडै सांसारिक जीवनमा अवतरण गर्ने वाचाका साथ आजीवन व्रह्मचर्य रही विसंं २००५ चैत्र २२ पाँचथर हाङयकमा अपराह्न ६३ वर्ष ४ महिना २७ दिनको उमेरमा परमधाम हुनुभयो । उहाँको प्रतिमा माङसेबुङ, दमक, इवा, यासोक, लोब्रे र फिदिममा छ ।
आफ्नो पूर्वजन्म नलराजा र दमयन्ती रानीका छोरा राजकुमार भनी गोप्य चेलाहरूलाई बताउनुहुने मुहिगुम अङसिमाङ, समाजसुधारक मात्र होइन, मानव मुक्तिदाता, ज्ञानदाता, चेतनदाता र धर्म दर्शनदाता हुनुहुन्छ । माङवाणीदाताको १२६ औं जन्मजयन्ती मनाइरहँदा उहाँ युगयुगसम्म अमर रहिरहनुहुनेछ भन्न सकिन्छ ।
लेखक मुन्धुमविद् हुन् ।

Friday, May 7, 2010

पारिजातले कसरी लेख्नुहुन्थ्यो ?

'दिदीको लेखहरुमा भएका पात्रहरु मलाई प्रय सबै थाहा छ ।' पारिजातकी बहिनी सुकन्याले आफ्नो दिदीको लेखनअनुभव सुनाउँदै भन्नुभयो । उहाँले थप्दै जानुभयो 'दिदीकोमा थुप्रै साथीहरु आएर लेखनबारे छलफल गर्थे म आफ्नो काममा विहान ९ बजे हिँड्थेँ राति ९ बजे फिर्थेँ । तर दिदीले कथा उपन्यास लेख्नलाई छानेको वस्तविक पात्रको कुरा सुत्नेबेला सुनाउनुहुन्थ्यो । त्यसैलाई पत्र बनाउनुहुन्थ्यो । ती वास्तविक पत्रलाई सुहाउँने नाम जुराएपछि सुकन हेर मैले फल्ना नाम जुराएँ' भन्दै सुनाउनुहुन्थ्यो । पात्रको काल्पनिक नाम पनि राम्रोराम्रो जुराउनुहुन्थ्यो ।

पात्रहरुको चरित्रले कृतिलाई जीवन्त बनाउँछ । पारिजातका कृतिहरु सुन्दर हुनुका प्रमुख कारणहमध्ये पात्रहरुको चयन तथा समायोजन पनि हो । पारिजातको निधन भएको १६ वर्ष भइसक्यो । उनका कृतिहरु त्यतिकै रोचक र सान्दर्भिक छन् । नेपाली महिलासाहित्यकारहरुको लाममा पारिजात अहिलेसम्म पनि निकै अगाडि हुनुहुन्छ । यो बीचको खाडल पुर्न नेपाली महिला साहित्यकार मात्र होइन समग्र नेपाली साहित्यमा पनि धेरैले निकै तपस्या गर्नु पर्दछ । आखिर परिजात नै कसरी त्यस्ता आदर्श लेखिका बन्न सफल हुनुभयो सुकन्या पारिवारिक स्मरण यसरी सुनाउनुहुन्छ, 'खोई बुबा पनि यसको लेख्ने कुरा चाही पाइरासी नै हो भन्नुहुन्थ्यो हाम्रो परिवारमा लेखक चाहीँ कोही थिएनन् ।'

पारिजातमा लेखनप्रभाब कसरी पर्यो तँ लेखक तँ डाक्टर तँ वकिल भनेर जन्मजात पाइरासी कसैको हुँदैन । को के बन्ने भन्ने कुरामा वातावरणको प्रमुख भूमिका हुन्छ । सुकन्याले परिवारमा लेखक कोही थिएन भन्नुभए पनि पारिजातको लेखन प्रभाब भने परिवार नै हो । सुकन्याकै अनुसार परिवारमा अध्ययनको राम्रो वातावरण थियो । बुबा केएस वाइवा पनि खुब अध्ययनशील हुनुहुन्थ्यो । बुबाले राम्राराम्रा कथाहरु सुनाउनुहुन्थ्यो । दाजु पि्रयकुमार वाइवा पनि निकै आध्यनशील हुनुहुन्थ्यो । उहाँले बाहिरको पुस्तकहरु ल्याइरहनुहुन्थ्यो । दिदीले यी पुस्तकहरु चोरीचोरी पढ्नुहुन्थ्यो । दिदी सानैदेखि अध्यनशील स्वभाबको हुनुहुन्थ्यो । पाठ्यपुस्तक कम पढ्नुहुन्थ्यो । बाहिरको पुस्तक खोजीखोजी पढ्नुहुन्थ्यो । पुस्तकहरुको बारेमा घरमा कति धेरै छलफल हुन्थ्यो भन्दै सुकन्या सुनाउनुहुन्छ ।

त्यतिबेला दार्जिलिङको टोलटोलमा हाते पत्रिका निस्कन्थ्यो । हातैले राम्रो अक्षेरमा लेखिएको हुन्थ्यो । हाम्रो टोलमा पनि त्यस्तै हाते पुस्तक निकाल्न थालियो । त्यसमा लेखहरु खोज्ने अनि कति त दिदीआफैले पनि लेख्नुहुन्थ्यो । केटाकेटीमा पनि राम्रै लेख्नुहुन्थ्यो । स्कुलमा पनि राम्राराम्रा निबन्ध लेखेको थाहा भएको पारिजातको बल्यकाल सुकन्याले सुनाउनुभयो ।

लेखको निम्ति श्रोतहरु पनि त चाहिन्छ । अध्ययनका साथ घुमफिर पनि त आवश्यक छ पारिजात शारीरिक रुपमा कम्जोर हुनुहुन्थ्यो । विभिन्न ठाउँको बारेमा कसरी लेख्न सक्नुभयो भनेर जिज्ञासा पोख्दा सुकन्याले ुआ …यति घुम्न रुचाउनुहुन्थ्यो स्कुल विदा हुनासाथ रोटी पोलेर थर्मसमा चिया हालेर साथीहरु बटुलेर सुइया पिक्निक गइहाल्नुहुन्थ्योु भन्दै फूलबारी जङ्लजङगल घुमेको कुरा बताउनुभयॊ । पानी परेर उघि्रएको रात मनपराउनुहुन्थ्यो जुन लागेको रात मनपराउनुहुन्थ्यो साँ´ वर्षा क्रृतु मनपराउनुहुन्थ्यो । बाल्यकालको दिदीको सम्झना न्यास्रो पोख्दै सुकन्याले 'सारै रहरी एक्लैएक्लै पनि घरबाट निस्कनुहुन्थ्यो' भन्नुभयो ।
सुकन्याले बाल्यकालमा एक्लै र कतिपय ठाउँहरु साथीसंग पनि मिलेर धेरै ठाउँहरु पारिजातले घुमेको कुरा बतउनुभयो । पारिजातका लागि ती लेखनका श्रोतहरु भयो ।

पारिजातको सुरुका रचनाहरु विचारधाराको हिसाबमा कम्जोर मानिन्छ । पछिसम्म पनि यस्तै विचारधारामा लेख्नुभएको भए विष्णुकुमारी वाइबा न्वरानको नाम पारिजात हुनसक्नुहुन्थेन । लेखनको निम्ति विचार पनि त स्पष्ट हुनुपर्छ । पारिजातले विचार कसरी निर्माण गर्नुभयो होला आध्ययन र असल सङ्गतबाट नै परिजातले आफ्नो कृतिमा निमुखाहरुलाई माया गर्न सिक्नुभएको भन्ने सुकन्याको भनाइ छ । मिर्मल लामा मोहनबिक्रम निनु चापागाई गोविन्द भट्ट लगायत आरु थुप्रैको सङ्गतले उहाँ प्रगतिवादी हुनुभयो । दिदीहरुको राल्फा समुह थियो । दिदीको लागि विचारनिर्माणको थलो यही भयो । निनु चापागाई रायन रामेश माजुल र पारिजात दिदीहरु एकआपसमा अध्ययन छलफल गर्ने गर्नुहुन्थ्यो । उनीहरु कविता लेख्नको लागि बिम्ब र प्रतीक प्रयोग गर्ने होडबाजी नै गर्थे । यही पिरियडदेखि दिदीले बलियो बिचार बनाएर फुत्त प्रगतिबादी धारमा आउनुभयो । यसैले दिदीलाई पारिजात बनायो ।

लेखकहरुको लेख्ने शैली आआफ्नै प्रकारको हुन्छ । कतिपयलाई एकान्त चाहिन्छ परिस्कार गरिरहनुप पर्छ । तर पारिजातलाई एकान्त पनि चाहिन्थेन परिस्कार पनि गरेको थाहा नभएको बताउनुहुन्छ सुकन्या । पारिजातको ख्वारख्वार लेख्ने बाँनी थियो । त्यो कसरी सम्भब भयो ुपहिले दिमागमा कथाको प्लट बनाउँछु सोच्छु अनि ख्वार्र लेख्छु भनेर दिदीले भनेको कुरा सुकन्याले सुनाउनुथयो ।

घुमपिर गर्न औधी मनपराउनुहुने पारिजात आफ्नो रहरलाग्दो उमेरमै 'रिह्युमाटोएड आर्थि्रटिज' नामको हाडजोर्नी रोगका कारण पारिजात थला पर्नुभयो । त्यसपछि पनि उनले हुइल चियरमा बसेर कतिपउ ठाउँ घुम्नुघयो । वौद्धिकवर्गसंग जसरी कुराकानी गर्नुहुन्थ्यो त्यतिकै सर्वसाधारण व्यक्तिहरुसंग पनि कुराकानी गर्ने बाँनी पारिजातमा थियो । ज्यमी किसान तथा गाउँघरबाट आएका मानिसहरुसंग बसेर घन्टौँ दुःखसुखका कुराहरु गर्नुहुन्थ्यो । तीनै व्यक्ति र उनीहरुको दुःखलाई समेटेर पारिजातले कथा बनाएको कुरा सुकन्याले सुनाउनुभयो । उनीबाट पारिजातका रचनामा धारीङतिरका धेरै पात्र भएको कुरा थाहा भयो । 'सिटी हलको बूढो ज्यामी साह्रै दुःख पाएको व्यक्ति हो विचरा ! ती अझै छ होला' पारिजातका कृतिभित्रका पात्रहरुप्रति सहानुभुति देखाउँदै सुकन्याले सुनाउनुभयो ।

राम्री लाग्यो नुवाकोटकी गोरीमाया

तिलक चाम्लिङ
साँच्चै राम्री छे नुवाकोट चिन्डे गाउँकी गोरीमाया । लाम्चिलो गोलो अनुहारमा सानासाना आँखा पाकेको आरुबखडाजस्तो ओंठ भएकी यी तामाङ्नी केटी शारीरिक रुपमा जति राम्री थिई आहा ! त्योभन्दा राम्रो त उनको सङ्घर्षशील जीवन छ । हाँसूहाँसू लाग्ने आफ्नै कल्पनाले आफूलाई काउकुति लाग्ने १६ वर्षकी उनको सुन्दर उमेरको गाउँभरि प्रशंसा हुन्थ्यो । गरिबकी छोरी थिई । कार्की परिवारका धनी छोरोसँग उनको विवाह भयो । तर गरिबी र गैरजातिसँग विवाह गरैकै कारणले दाम्पत्य जीवन सुखद् रहेन । विवाह उनको लागि अभिशाप भयो । अछूतको सास्ती त व्यहोर्नु पर्योपर्यो आफ्नै बहुला श्रीमान् कृष्णे कार्कीले पनि कुट्न थालेपछि उनको मन थाम्ने ठाउँ रहेन । त्यसकारण आधा रातबीच चिहानघारीको बाटो हुँदै जन्मथलो फर्किन् गोरीमाया । गाउँलेहरुले घर गर्न नसक्ने भनेर उल्टै गोरीमायाको कमजोरी देखाए ।
गोरीमायाको बा घ्याबरिङ बुढालाई छोराले छाडेको पनि धेरै भयो । श्रीमती मरेकै ५/६ वर्ष भइसक्यो एक्ली छोरी पनि यो हालतमा आइपुगी । चिन्ताले पिरोलिएको देख्दा बुबाको मन राख्न खोज्थी गोरीमाया । उनी सारा गाउँलाई नै सिनो गनाइरहेको उजाड देख्छिन् । सहानुभूति दिने मान्छेहरु गाउँमा भए पनि आफ्नै जन्मथलोमा बस्न पटक्कै मन थिएन उनलाई ।
साहेब्नी चन्द्रकान्ता अर्थात् डीएसपी भीष्मबहादुर आलेको घरमा काम गर्ने केटीको खोजी गर्ने क्रममा छ्यामाको छोरो साइँला दाइ काठमाडौँबाट आइपुग्यो । महिनाको ४० रुपियाँ पाइने आसमा उनी साइँला दाजुको आड लागेर काठमाडौँ पुग्छे । बानेश्वरको डीएसपीको शानदार घरमा घरधन्दा गर्न गोरीमाया आइपुगिन् । पहिलोपटक तन्ना ओछ्याएको खाटमा यहीँ हो उनले सुतेको । उनकी साहेब्नीको इतिहास पनि गजबकै छ । दार्जेलिङको गल्छेडोमा अवैध धन्दा गरेर बस्थी । आफूले जन्माएको छोरो लालबहादुरको बाबु को हो साहेब्नी चन्द्रकान्तालाई नै थाहा थिएन । उनलाई डीएसपी भीष्मबहादुरले छोरो बनाएका थिए । चन्द्रकान्ता लालबहादुर र भीष्मबहादुरको तीनजनाको परिवारमा गोरीमाया थपिएपछि चारजनाको परिवार भयो । डीएसपी कहिलेकाहीँ मात्र घरमा ´ुल्किन्थे ।
लालबहादुर अल्पभाषी तर साहुनी फतरफतर बोल्थी । मान्छे कामले मर्दैन खानले मर्छ भन्दै साहेब्नीले गोरीमायालाई काम सिकाउँथी । गाउँमा घाँसदाउरा गर्दागर्दा खारिएकी गोरीमायाले घरको काम त एकैछिनमा सिनित्तै पार्थी । उनलाई त्यो घरमा कुनै किसिमको अप्ठ्यारो परेको थिएन ।
लालबहादुर र उनका साथीहरु प्रगतिशील विचारधाराका थिए । उनका बाबु आले साहेब डीएसपी थिए । एउटै घरमा विपरीत विचारधाराका प्राणी थिए । अर्थात् भूमिगत राजनीतिमा लागेका छोरा र निरङ्कुश पाचायती सरकारका इमानदार सेवक आले साहेब जो आफ्नै साथीहरुबाट मारिए र हत्यारा लुकाइयो ।
पूर्व पाँचथर जिल्ला याशोक गाउँकी लिम्बुनी सुवानी साङ्गठनिक कामको सिलसिलामा प्रायः लालबहादुरलाई भेट्न आउँथी । उनी पढ्न भनेर काठमाडौँ छिरेकी थिई । तर पढाइ छोडेर भूमिगत विद्यार्थी राजनीतिमा लागिन् । सुवानी लालबहादुर एमआर र प्रदीप तीनैजना २०३५/३६ सालको विद्यार्थी राजनीतिका केन्द्रीय पात्रहरु हुन् । विद्यार्थीआन्दोलनकै कारण सरकार जनमतसङ्ग्रह घोषणा गर्न बाध्य भयो । सुवानीकै सङ्गतले गोरीमाया राजनीति र शोषणजस्ता कुराहरु बुझ्न सक्ने भइसकेकी थिई । गोरीमायासँग सामाजिक दुखेसोको पोका जति ठूलो छ त्यस्तै राजनीतिक आन्दोलनमा हिँड्दा खेपेको दुःखको पोको सुवानीसँग छ । यस उपन्यासको केन्द्रीय पात्र उनै सुवानी हुन् । उनको घरमा सम्बन्ध बिग्रेको छ । छोरालाई जस्तो छोरीलाई राजनीति गर्न सजिलो छैन । थुप्रैले कुरा काटेर हिँड्छन् । अत्यन्त स्वाभिमानी छिन् उनी । एक दिन उनी बलात्कृत हुन्छे । घटनाको भोलिपल्ट पत्रपत्रिकामा ठूलै खैलाबैला मच्चिन्छ । कार्यकर्ताहरु आफ्नो नेतामाथि भएको यस्तो अपमानको विरुद्धमा आगॊ हुन्छन् । यही घटनाले सुवानी मानसिक रुपमा कमजोर हुन्छे । सान्त्वना दिनका लागि उनको कार्यक्षेत्र तराईतिर पारिन्छ ।
लालबहादुर सहिद भइसकेका छन् । आले साहेबको पनि सुकुम्बासी आन्दोलनमा सङ्कास्पद ढङ्गले मृत्यु भइसकेको छ । अहिले गोरीमाया बसेको घरमा शून्यता छाएको छ । चन्द्रकान्ता जस्तोसुकै दुःखमा पनि हाँस्न सक्ने मान्छे छोरो र श्रीमान् को मृत्युपछि निराश भएकी छे । गोरीमायालाई यो घरप्रति खुब श्रद्धा छ । आफ्नो बिरामी बुबाको सुर्ता जति गर्थी त्यतिकै सुर्ता गॊरीमायालाई यो घरको छ ।
'अनिदो पहाडसँगै'पारिजातको पढ्नैपर्ने उपन्यास हो । यो पुस्तक समाजमा भएका अन्यायअत्याचारको विरुद्ध उभिएको छ । गोरीमाया र सुवानी यस उपन्यासका आदर्श नारी पात्र हुन् । लालबहादुर एमआर तथा प्रदीपजस्ता पात्रहरुको पनि कम भूमिका छैन । उनीहरुको सङ्घर्पशील जीवन युवाहरुको प्रेरणाको स्रोत हो ।
चौथो प्रकाशनको समेत तयारी हुँदैगरेको यो उपन्यास नर पल्लबले अङ्ग्रेजीमा अनुवाद गरेका छन् । गोरखापत्र दैनिकको राई चाम्लिङ भाषामा पनि नियमित प्रकाशन हुँदै आएको छ ।
पारिजात शारीरिक रुपमा कमजोर थिइन् । तर त्यसले उनको साहित्य साधनामा कुनै असर गरेन । कथाकार उपन्यासकार संस्मरणकार नाटककार निबन्धकार र कविका रुपमा हामी पारिजातलाई चिन्दछौँ । पारिजातले थुप्रै साहित्यिक कृतिहरु रचाना गरेका छन् । उनका तीनतीनवटा कवितासङ्ग्रह र आत्मसंस्मरणात्मक पुस्तक एकएकवटा निबन्ध र नाटक चारवटा कथासङ्ग्रह र १० वटा उपन्यास प्रकाशित छन् । यी रचनाहरु प्रायः सबै राम्रा छन् । त्यसमध्ये यो 'अनिदो पहाडसँगै' युवाहरुले पढ्नै पर्ने पुस्तकभित्र पर्दछ ।